भारतमा एलन मस्कको स्टारलिङ्क इन्टरनेट सेवा सञ्चालनको तयारी, नेपालमा कहिले आउला ?

भुटानमा स्टारलिङ्क स्याटलाइट इन्टरनेट सेवा सुरु भइसकेपछि नेपालमा पनि यसको आगमनबारे चासो बढेको छ। भारतका दुई ठूला दूरसञ्चार कम्पनी भारती एअरटेल र रिलायन्स जिओले स्पेसएक्ससँग सम्झौता गरेपछि नेपालमा स्टारलिङ्क सेवाको सम्भावना झन् चर्चामा छ।



स्पेसएक्सले दुई वर्षअघि नै नेपालमा स्याटलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने चासो देखाएको थियो। गत मंसिर ७ गते इलोन मस्क र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भर्चुअल छलफल भएको थियो। यद्यपि, स्टारलिङ्कको आधिकारिक वेबसाइटमा नेपालमा सेवा सुरु हुनेबारे कुनै निश्चित मिति उल्लेख गरिएको छैन।



नेपालका अधिकारीहरू पनि स्टारलिङ्क सेवाबारे स्पष्ट हुन सकेका छैनन्। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्यालका अनुसार स्टारलिङ्कले हालसम्म कुनै औपचारिक निवेदन दिएको छैन। सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पनि मन्त्रालयमा हालसम्म यसबारे छलफल नभएको बताएका छन्।



भारतमा भने स्पेसएक्सलाई सेवा विस्तार गर्नका लागि नियामकीय अनुमति आवश्यक छ। त्यहाँको दूरसञ्चार क्षेत्रमा स्याटलाइट फ्रिक्वेन्सी वितरणबारे सुरक्षा चिन्ता उठाइएको छ। त्यहाँका दूरसञ्चार कम्पनीहरूले फ्रिक्वेन्सी लिलामी हुनुपर्ने माग राख्दै आएका छन्, जबकि इलोन मस्कले भने यस्तो लिलामी प्रक्रियाको आलोचना गर्दै आएका छन्।
नेपालमा मुख्य चुनौती के?
नेपालमा स्टारलिङ्क सेवा सञ्चालन गर्नका लागि मुख्य चुनौती दूरसञ्चार क्षेत्रमा लगानीसम्बन्धी नीति रहेको छ। नेपालले दूरसञ्चार क्षेत्रमा न्यूनतम २० प्रतिशत स्वदेशी लगानी अनिवार्य गर्ने नीति लिएको छ। तर, इलोन मस्कको कम्पनीले पूर्ण स्वामित्वमै इन्टरनेट सेवा सञ्चालन गर्न चाहने भएकाले यो नीति परिवर्तन गर्नुपर्ने हुन्छ।
इन्टरनेट सेवा प्रदायक वर्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालका अनुसार नेपालमा स्टारलिङ्कको सेवा आवश्यक छ। तर, वैदेशिक लगानी नीति र फ्रिक्वेन्सी वितरण प्रक्रियामा स्पष्टता नहुँदा सेवा सुरु हुन नसकेको उनको भनाइ छ। सञ्चार मन्त्रालयले दूरसञ्चार सम्बन्धी कानुनी सुधारबारे आन्तरिक छलफल गरिरहेको भए पनि स्टारलिङ्ककै लागि कुनै विशेष नीति बनाइएको छैन।
स्टारलिङ्कको सम्भावित शुल्क कस्तो हुन सक्छ?
नेपालमा स्टारलिङ्कको शुल्कबारे कुनै औपचारिक जानकारी छैन। तर, भुटानमा उसको सेवाका लागि मासिक ३,००० भुटानी मुद्रा (करिब ४,८०० नेपाली रुपैयाँ) लिइनेछ। यो शुल्क अन्तर्गत २३ एमबीपीएसदेखि १०० एमबीपीएससम्मको स्पीड उपलब्ध गराइनेछ। भारतमा भने भुटानभन्दा सस्तो मूल्यमा सेवा उपलब्ध गराउने सम्भावना रहेको बताइन्छ।
स्टारलिङ्कले भूउपग्रहहरूको नेटवर्कमार्फत इन्टरनेट उपलब्ध गराउने भएकाले यसको सेवा विशेषगरी दुर्गम क्षेत्रमा बस्ने तथा उच्च गतिका इन्टरनेट पहुँच नपाएका व्यक्तिहरूका लागि उपयोगी हुनसक्छ। नेपालमा यस सेवाको भविष्य के हुने हो भन्ने विषयमा सरकार र नियामक निकायहरूको निर्णयमा भर पर्नेछ।