तराई–मधेशमा आज धूमधामसँग होली पर्व मनाइँदै

रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा उल्लासका साथ मनाइँदै छ। पहाडी तथा हिमाली जिल्लाहरूमा बिहीबार नै होली मनाइएको थियो, भने त्यसको भोलिपल्ट तराई–मधेशमा यो पर्व मनाउने परम्परा रहिआएको छ।



सरकारले होली पर्वका अवसरमा आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। पहाडी जिल्लाहरूमा भने बिहीबार बिदा दिइएको थियो।



स्थानअनुसार होलीको फरक नाम र परम्परा
हिमाली तथा पहाडी भेगमा यो पर्वलाई ‘फागु पूर्णिमा’ भनिन्छ भने तराई–मधेशमा ‘होली’ नामले परिचित छ। मैथिली भाषामा यसलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ।



तराई–मधेशका अधिकांश स्थानमा पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ। तर, मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भने अन्तरगृह परिक्रमा सकिएको भोलिपल्ट मात्र यो पर्व मनाउने परम्परा छ। पन्ध्र दिने मिथिला परिक्रमा सकेर तीर्थयात्री आ–आफ्ना गन्तव्य फर्किएपछि यहाँ होली मनाइन्छ। यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलनसमेत आयोजना गरिन्छ।
समानता र सद्भावको प्रतीक होली
होली पर्व सबैलाई एउटै रङ्गमा रंगाउने, समानता र सद्भावको प्रेरणा दिने पर्वका रूपमा रहिआएको छ। यस पर्वले हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई लगायत सबै समुदायलाई एकताको सन्देश दिँदै उमङ्ग र उत्साहको सञ्चार गर्ने विश्वास गरिन्छ।
यस पर्वले असत्यमाथि सत्य, छलमाथि निष्छलता, र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा समाजमा अनेकताभित्र एकता कायम गर्ने महत्त्व बोकेको छ।
वैदिक यज्ञसँग जोडिएको परम्परा
वैदिक यज्ञ परम्परासँग जोडिएको होरीमा आगोमा चीर डढाउने चलन छ। मिथिलाञ्चल क्षेत्रमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने परम्परा समेत रहेको छ।
होलीको उल्लासपूर्ण माहोलसँगै समुदायबीच आपसी सद्भाव, मेलमिलाप, र आनन्दको वातावरण सृजना गर्ने विश्वास गरिन्छ।