भारतको वायुसेना आधुनिकीकरणः अमेरिकी एफ-३५ कि स्वदेशी स्टेल्थ विमान?

गत महिना वाशिङ्टन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरे। सो अवसरमा ट्रम्पले अमेरिकाले भारतलाई एफ-३५ लडाकु विमान बिक्री गर्ने विषयमा तारतम्य मिलाउन लागेको जानकारी दिए।
एफ-३५ अमेरिकी सेनाको अत्याधुनिक पाँचौँ पुस्ताको लडाकु विमान हो, जसलाई अमेरिका आफ्ना सीमित साझेदारहरूलाई मात्र आपूर्ति गर्छ।
एफ-३५ स्टेल्थ विमान रेडार छल्न सक्षम, अत्याधुनिक सेन्सर प्रविधि तथा एआई निर्देशित कम्ब्याट प्रणालीले युक्त छ। तर, यसको प्रति इकाई लागत झण्डै आठ करोड डलर पर्ने हुँदा विश्वकै महँगो लडाकु विमानहरूमध्ये एक हो।
भारतका सामु अहिले गम्भीर निर्णयको समय आएको छ – या त अमेरिकाको महँगो एफ-३५ किन्ने कि रुससँगको दीर्घकालीन रक्षा साझेदारीलाई बल पुर्याउँदै सुखोई एसयू-५७ को उत्पादन गर्ने।
भारतको रक्षा रणनीति र चुनौतीहरू
बेंगलुरुमा आयोजित एयरो इंडिया प्रदर्शनीमा अमेरिकी एफ-३५ र रुसी एसयू-५७ दुबैको प्रदर्शनपछि भारतीय सञ्चारमाध्यमहरूले भारतीय वायुसेनाका लागि कुन विमान उपयुक्त हुने भन्ने विषयमा चर्चा चुलिएको छ। तर, सुरक्षा विज्ञहरूका अनुसार यो निर्णय रणनीतिक र आर्थिक पक्षले निर्देशित हुने देखिन्छ।

कार्नेगी इन्डावमेन्ट फर इन्टरनेशनल पिसका वरिष्ठ विश्लेषक एस्ले जे. टेलीसका अनुसार ट्रम्प प्रशासनले एफ-३५ बिक्री प्रस्ताव राख्नु मुख्यतः हतियार व्यापारलाई प्रवर्द्धन गर्ने रणनीति हो। यो प्रस्ताव व्यावहारिक कम र प्रतीकात्मक बढी देखिन्छ। एफ-३५ को सहउत्पादनको सम्भावना निकै कम छ, जुन भारतको ‘मेक इन इन्डिया’ अभियानसँग मेल नखान सक्छ। साथै, अमेरिकी हतियार प्रणालीको प्रयोगमा कडाइका कारण भारतले गोपनीयता सम्बन्धी चिन्ता व्यक्त गर्न सक्छ।
भारतको लडाकु विमान रणनीति मुख्यतः स्वदेशी उत्पादनमा केन्द्रित रहेको छ। घरेलु एडभान्स्ड मिडियम कम्ब्याट एयरक्राफ्ट (एएमसीए) को विकास तथा थप रफाल लडाकु विमानको खरिद हाल प्राथमिकतामा छन्। भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले स्वदेशी स्टेल्थ विमान निर्माण गर्न महत्वपूर्ण लगानी गरिसकेको छ, तर यसको व्यावहारिक प्रयोगमा आउन अझै केही दशक लाग्न सक्छ।
लडाकु विमानको अभाव र खरीदको विकल्प
हाल भारतीय वायुसेनासँग ३१ लडाकु स्क्वाड्रन छन्, जुन आवश्यक ४२ को तुलनामा निकै कम हो। चीन र पाकिस्तान क्रमशः आफ्ना हवाई शक्ति विस्तार गरिरहँदा भारतले विगत दशकमा लडाकु विमानहरूको संख्या उल्टै घटाएको छ। सन् २०१४ देखि २०२४ सम्म चीनले ४३५ लडाकु विमान थप्दा भारतको संख्या १५१ ले घटेको छ।
हाल भारतको रक्षा मन्त्रालयले ११४ विदेशी लडाकु विमान किन्ने योजना बनाइरहेको छ, जसका लागि प्रविधि हस्तान्तरण तथा स्वदेशमै उत्पादन गर्ने शर्तहरू राखिएका छन्। प्रतियोगितामा पाँचथरी लडाकु विमान छन्, जसमा फ्रान्सेली रफाल प्रमुख दावेदार देखिन्छ।
स्वदेशी उत्पादनको प्राथमिकता
भारतले दीर्घकालीन रूपमा स्वदेशमै लडाकु विमान उत्पादनलाई प्राथमिकता दिएको छ। हाल ५०० विमान निर्माणको योजना छ, जसमा ८३ तेजस मार्क १ए को अर्डर पक्का भइसकेको छ भने थप ९७ को खरीद प्रक्रिया अघि बढिरहेको छ। तेजस मार्क २ को विकास कार्य जारी छ, तर स्वदेशी स्टेल्थ विमानको व्यावहारिक सञ्चालन अझै एक दशक टाढा छ।

भारतका लागि रक्षा बजेट, ढिलाइ र विदेशी प्रविधिमा निर्भरता मुख्य चुनौती बनेको छ। घरेलु उत्पादन प्राथमिकतामा रहे पनि अनुसन्धान तथा विकास प्रक्रियामा भएको ढिलाइका कारण भारतले तत्काल विदेशी लडाकु विमान खरिद गर्नुपर्ने बाध्यता देखिन्छ।
भारतले दीर्घकालीन रूपमा स्वदेशी स्टेल्थ विमान उत्पादनलाई केन्द्रबिन्दुमा राखेको छ। अमेरिकी एफ-३५ लिने वा नलिने विषय भारतको रक्षा रणनीति र स्वदेशी उत्पादन क्षमतामा निर्भर गर्नेछ। चीनसँग जे-२० र जे-३५ स्टेल्थ विमानहरू रहेका कारण भारतले पनि तत्काल आफ्नो हवाई शक्ति विस्तार गर्नुपर्ने देखिन्छ।
वायुसेना प्रमुख एपी सिंहका अनुसार भारतलाई तत्काल लडाकु विमान आपूर्ति आवश्यक छ, तर स्वदेशी उत्पादन ढिलाइका कारण विदेशी विकल्पतर्फ पनि ध्यान दिनुपर्ने बाध्यता रहेको छ। निकट भविष्यमा भारतले एफ-३५ या सुखोई एसयू-५७ मध्ये कुनै एक रोज्ने सम्भावना कम छ, बरु छोटो अवधिका लागि अन्तरिम समाधान खोज्ने र दीर्घकालमा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने रणनीतिमा अघि बढ्ने देखिन्छ। एजेन्सीहरुको सहयोगमा



