No Image Headlineअन्तराष्ट्रिययस्तो पनि

ओभल अफिसमा जेलेन्स्कीको पोसाकबारे चर्को बहस, पोसाककै कारण वार्ता भाँडिएको हो ?

ह्वाइटहाउसमा शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको भेटमा जेलेन्स्कीको पोसाक मुख्य विषय बन्न पुग्यो।

ट्रम्पले जेलेन्स्कीलाई भेट्नासाथ उनको पोसाकतर्फ संकेत गर्दै भने, “तपाईं आज विशेष पोसाकमा हुनुहुन्छ।” जेलेन्स्की युक्रेनी त्रिशूल अङ्कित सैन्य शैलीको कालो स्वेटशर्टमा ओभल अफिस पुगेका थिए। सन् २०२२ मा रुसले पूर्णस्तरको आक्रमण गरेदेखि नै उनले औपचारिक पोसाक परित्याग गरेका छन्।

बैठकको क्रममा एक पत्रकारको प्रश्नले माहौल तनावग्रस्त बनायो। परम्परावादी केबल नेटवर्क रियल अमेरिकाज् भ्वाइसका प्रमुख संवाददाता ब्रायन ग्लेनले प्रश्न गरे, “तपाईं किन सुट लगाउनु हुन्न? यहाँ आउने उच्च पदस्थ अधिकारीहरू औपचारिक पोसाक लगाउने गर्छन्, तर तपाईंले त्यसो गर्नुभएन।” यस प्रश्नपछि जेलेन्स्की केही क्षण मौन रहेर जवाफ दिए, “यो युद्ध सकिएपछि म त्यस्ता पोसाकहरू लगाउँछु।”

उनको प्रतिक्रियाले उपस्थित व्यक्तिहरूमाझ हल्का हाँसो ल्याए पनि विवाद भने सेलाएन। अमेरिकी उपराष्ट्रपति जेडी भान्सलगायतका दक्षिणपन्थी नेताहरूले युक्रेनी राष्ट्रपतिले अमेरिकी सहयोगप्रति पर्याप्त कृतज्ञता नदेखाएको आरोप लगाइरहेका थिए।

पत्रकार ग्लेन ट्रम्प समर्थक रहेको खुलेको छ। उनले यसअघि ट्रम्पको ‘अमेरिका फर्स्ट’ नाराप्रति पूर्ण समर्थन रहेको बताएका थिए। उनको प्रश्नपछि सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ। जेलेन्स्कीका समर्थकहरूले दोस्रो विश्वयुद्धताका विन्स्टन चर्चिलले अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजभेल्टसँग जम्पसुट जस्तो पोसाकमा भेटेको तस्बिर सार्वजनिक गरेका छन्।

यस घटनापछि राष्ट्रपति ट्रम्पले आफूलाई भने जेलेन्स्कीको पोसाक मन परेको भन्दै भने, “मेरो विचारमा उहाँले राम्रो लुगा लगाउनु भएको छ।” तथापि, ह्वाइटहाउसका केही स्रोतले ट्रम्प प्रशासनले जेलेन्स्कीलाई औपचारिक पोसाक लगाउन अनुरोध गरेको खुलासा गरेका छन्।

बैठक करिब २० मिनेटसम्म सौहार्दपूर्ण रूपमा चले पनि बहस उत्कर्षमा पुगेपछि जेलेन्स्कीलाई चाँडै ह्वाइटहाउसबाट बाहिर जान अनुरोध गरिएको थियो। यस घटनाले दुई देशबीचको सम्बन्धमा थप तनाव थपिएको देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button