दोस्रो वीरगञ्ज गोल्डकप २०८१ शनिबारदेखि, कुनकुन टोली खेल्दैछन् ?
मधेस प्रदेशकै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ शनिबारदेखि सुरु हुने भएको छ। भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा फागुन १७ देखि २४ गतेसम्म वीरगञ्जको आर्दशनगर रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका आठ फुटबल टोलीको सहभागिता रहने जानकारी गराएको छ।
प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ। भेट्रान सिटी क्लब वीरगञ्जका उपाध्यक्ष सागर समशेर जबराले मधेस प्रदेशमा फुटबल खेलको प्रवर्धन गर्न प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब ९दिल्ली०, एपिआई चर्च ब्वाइज युनाइटेड ९काठमाडौं०, सलहेश फुटबल क्लब सिराहा तथा आयोजक वीरगञ्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्ने क्लबका सदस्य सन्तोष खनालले जानकारी दिएका छन्।
विजेता टोलीले नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक वीरगञ्ज महानगरपालिका रहेको छ। प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ।
दर्शकका लागि अस्थायी प्याराफिट निर्माण गरिएको छ, जसमा करिब दुई हजारभन्दा बढी दर्शक अटाउन सक्नेछन् भने मैदानमा अन्य तीन हजारभन्दा बढी दर्शकका लागि स्थान सुरक्षित गरिएको छ।
पहिलो संस्करणको वीरगञ्ज गोल्डकप २०८० कात्तिक महिनामा आयोजना गरिएको थियो। त्यस प्रतियोगितामा नेपाल पुलिस क्लब विजेता र नेपाल आर्मी क्लब उपविजेता बनेका थिए।
पछिल्लो समय सुस्ताएको वीरगञ्जको फुटबल गतिविधिलाई पुनः सक्रिय बनाउन प्रतियोगिता आयोजना गरिएको संयोजक श्रीवास्तवले बताए।



