डिजाईजी बढुवाको सिफारिसमा परेका ‘ज्वाईनारायण’को शैक्षिक योग्यतामै प्रश्न, अख्तियारमा पर्यो उजुरी

सरकारले सशस्त्र प्रहरीको प्रहरी नायव महानिरीक्षक बढुवाको सिफारिसमा परेका एक अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि प्रश्न उठेको छ । सत्ताको आडमा वरिष्ठतालाई मिच्दै भावी सशस्त्र प्रहरी महानिरीक्षकको पदमा लैजान अघि बढाइएका दीपेन्द्र कुँवरको शैक्षिक योग्यताको छानविन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गएको स्रोतले बताएको छ ।
कुँबर सत्तासीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भजिती ज्वाइँ हुन् । उनी देउवाका स्वकीय सचिव भानु देउवा (देउवाका भजित) का बाहिनी ज्वाइँ हुन ।
कुँवरलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बनाएर भावी महानिरीक्षक बन्ने बाटो खोल्नकै लागि सो पद रिक्त भएको ६ महीनासम्म बढुवा नगरी रोकेर राखिएको थियो ।
सिफारिसमा परेका एसएसपी दीपेन्द्र कुँवरको शैक्षिक प्रमाणपत्रमा आशंका गरी अख्तियारमा उजुरी पुगेको समाचार हिमालय टिभीले प्रसारित गरेको छ । उनले भारतीय विश्वविद्यालयबाट स्नातकको प्रमाणपत्र ल्याएको र सो प्रमाणपत्र सक्कली वा नक्कली के हो छानविनका लागि अख्तियारमा उजुरी परेको हो । फागुनको ९ गते इमेलमार्फत अख्तियारमा उजुरी परेको सशस्त्र प्रहरीसम्बद्ध स्रोतले बताएको छ । उजुरीको वोधार्थ सशस्त्र प्रहरीको मुख्यालयलाई पनि गराइएको छ ।
यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारी बोल्न चाहेनन् । अख्तियारका प्रवक्ता नरहरि घिमिरे र सूचना अधिकारी देवीप्रसाद थपलिया दुवैले उजुरी परे नपरेको अनुसन्धान टुंगिनुअघि सार्वजनिक गर्न नमिल्ने बताए ।
गृह मन्त्रालयले फागुनको ८ गते कुँवरसहित एसएसपीहरु कृष्ण ढकाल र विष्णुप्रसाद भट्टलाई बढुवा सिफरिस गर्दा संगठनमा कुँवरभन्दा सिनियर अधिकारीहरु बढुवा हुनबाट बञ्चित भएका थिए । सुरक्षा निकायमा राजनीति हाबी हुँदा बारम्बार थिति बिथोलिने गरेको छ ।

राजनीतिको शीर्ष नेतृत्वको व्यक्तिगत रुचीका व्यक्तिलाई ती निकायको शीर्षासनमा पुर्याउने हठका कारण सिंगो संगठन अनिर्णयको बन्दीमात्र होइन, निराशा, कुण्ठा र अक्रोश विस्तार भइरहेको छ । अहिले सशस्त्र प्रहरी यस्तै बेथितिको शिकार बनेको भन्दै सञ्चारमाध्यममा कुरा उठिरहेको छ ।
दीपेन्द्र कुँवरलाई ब्याच मिचेर डिआइजी बनाउन पदोन्नति महिनौँदेखि रोकिएको हो। उनलाई भावी आइजिपीमा सुनिश्चित गर्न अघिल्लो ब्याचलाई नै उछिनेर डिआइजीमा बढुवा गर्न सिफारिस भएको हो ।
यसबारेमा संसदमा समेत कुरा उठिसकेको छ । सांसद मनिष झाले सदनमै यसबारे कुरा उठाएका थिए । उनले प्रश्न गरेका थिए, ज्वाइँनारायणलाई प्रमुख बनाउन सशस्त्र प्रहरीमा बढुवा रोकियो ?
को हुन् कुँवर

दीपेन्द्र कुँवर ०५९ मा भर्ना भएका सशस्त्र प्रहरीको दोस्रो ब्याचका अधिकृत हुन् । इन्स्पेक्टरमा भर्ना हुँदा ७४औँ स्थानमा रहेका उनलाई डिएसपीबाट एसपी बनाउँदा १० औँ नम्बरमा तानिएको थियो ।
एसपीबाट एसएसपीमा पहिलो नम्बरमा तानिएको थियो । उनी कार्यसम्पादनमा भने कमजोर एसएसपी हुन् । कांग्रेस सभापति देउवाका भतिजको बहिनी ज्वाइँ हुनु नै उनको सबैभन्दा ठूदो योग्यता भएको भन्दै सशस्त्र प्रहरी अधिकारीहरु कटाक्ष गर्छन् ।
शक्तिकेन्द्रकै आडामा उनी एसएसपीमा पहिलो नम्बरमा बढुवा भएपछि सशस्त्र प्रहरीका लागि आकर्षक मानिने प्रबन्धक महाशाखाको प्रमुखको रुपमा तीन वर्षदेखि छन् । सशस्त्र प्रहरी नियमावलीअनुसार सामान्यतया डेढ वर्षसम्म मात्र एउटै कार्यालयमा रहने प्रावधान छ ।
कुँवरले सशस्त्र प्रहरीको स्टाफ कलेजको परीक्षा उत्तीर्ण गर्न नसकेपछि राजनीतिक पहुँचकै आधारमा नेपाली सेनामा पठाएर स्टाफ कलेज गराइएको जानकारहरु बताउँछन् । सशस्त्र प्रहरीमा स्टाफ कलेज नगरेका एसएसपीभन्दा माथिल्लो पदमा बढुवा नहुने प्रावधान छ ।
हाल डिआइजी बढुवामा नेपाल प्रहरीबाट स्थानान्तरण भएका कृष्ण पाठक सबैभन्दा सिनियर हुन् । एसएसपीहरू मनीष थापा र प्रवीण कँडेल डीआईजीका दाबेदार थिए । तर, दुई ब्याचलाई उछिनेर कुँवरलाई बढुवा सिफारिस गरिएको छ । यसका कारण सशस्त्र प्रहरीको व्यावसायिकतामै आँच आउन सक्ने जोखिम बढेको भन्दै उच्च अधिकारीहरु चिन्तित देखिएका छन् ।



