नेपाललाई केन्द्रमा राख्दै अमेरिका, चीन र भारतको आर्थिक रणनीति

विश्व राजनीति र कूटनीतिमा आर्थिक सरोकार प्राथमिकतामा पर्दै गएपछि अमेरिका, चीन र भारतले आफ्नो रणनीतिक चासो नेपालमा केन्द्रित गरिरहेका छन्। हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा दुई देशबीच व्यापार प्रवद्र्धन र प्रविधि सहकार्यका विषयमा छलफल भएको थियो। यसअघि डोनाल्ड ट्रम्पको कार्यकालमा भारत भ्रमणको अवसरमा पनि यस्तै विषय प्राथमिकतामा राखिएको थियो।
चीनले आफ्नो आर्थिक प्रभाव विस्तार गर्न ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई)लाई प्राथमिकतामा राख्दै विश्वका ७० भन्दा बढी देशलाई समेट्ने रणनीति अघि बढाएको छ। सन् २०४९ सम्म विश्वका मुख्य अर्थतन्त्रमा आफ्नो प्रभाव विस्तार गर्ने चिनियाँ योजना अमेरिकासँगको प्रतिस्पर्धाको मुख्य विषय बनेको छ। चीन–अमेरिका व्यापार युद्ध यसको प्रत्यक्ष परिणाम हो।
अमेरिका र भारत चीनलाई आर्थिक शक्ति बन्न रोक्न रणनीतिक सहकार्य गर्दै आए पनि यी दुई देश आपसमा पनि आर्थिक प्रतिस्पर्धी हुन्। शक्ति सन्तुलन कायम गर्न भारत र अमेरिका विस्तृत व्यापार सम्झौताका दिशामा अघि बढिरहेका छन्। अमेरिका चीनलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरेर त्यसको विस्तार रोक्न आर्थिक कूटनीति अपनाइरहेको छ।
एक अध्ययनअनुसार केही वर्षभित्रै चीन विश्वकै अग्रणी अर्थतन्त्र बन्दैछ भने भारत दोस्रो स्थानमा पुग्नेछ। स्ट्यान्डर्ड चार्टर्डको रिपोर्टअनुसार सन् २०३० सम्म चीन पहिलो, भारत दोस्रो, र अमेरिका तेस्रो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ।
अहिले विश्व अर्थतन्त्रमा एशियाली मुलुकहरूको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। नेपाल अमेरिका, चीन र भारतजस्ता प्रमुख आर्थिक शक्तिको बीचमा रहेकाले यी देशहरूको बढ्दो चासो स्वाभाविक देखिएको छ। पछिल्लो समय नेपालमा अमेरिकी चासो गहिरिँदो देखिन्छ। अमेरिकी नीतिगत परिवर्तनले बहुपक्षीय प्रतिबद्धताभन्दा द्विपक्षीय सहकार्यलाई प्राथमिकता दिएको पाइन्छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका सबैभन्दा धेरै भ्रमण गरेका छन् भने चीन दोस्रो स्थानमा रहेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि भारत र नेपाल भ्रमण गरेका छन्। यी भ्रमणहरूको मुख्य उद्देश्य आर्थिक सरोकारमै केन्द्रित रहेको छ।
नेपालले हालसम्म १६८ देशसँग द्विपक्षीय सम्बन्ध विस्तार गरेको छ भने १४७ मुलुकसँग व्यापार सम्बन्ध कायम राखेको छ। तर, ११७ देशसँग व्यापार घाटा छ, जसमा भारतसँगको व्यापार घाटा सबैभन्दा उच्च रहेको छ। औपचारिक तथ्यांकअनुसार नेपालले भारतसँग वार्षिक ८–९ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरिरहेको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार सकारात्मक भए पनि त्यसको परिणाम उपलब्धिमूलक हुनुपर्नेमा विश्लेषकहरू जोड दिन्छन्। नेपालमा भारतको प्रभाव लामो समयदेखि रहँदै आए पनि पछिल्लो समय चीन र अमेरिकाको चासो बढ्नु यी देशहरूको आर्थिक स्वार्थसँग गाँसिएको देखिन्छ। तर, नेपालले यस चासोलाई आफ्नो हितमा रूपान्तरण गर्ने कूटनीतिक परिपक्वता देखाउन नसक्नु कमजोरी रहेको विश्लेषण गरिन्छ।
नेपालले विश्व अर्थ–राजनीतिका मुख्य प्रतिस्पर्धीहरूको बीचमा रहेर ‘बजार कूटनीति’लाई परिस्कृत बनाउन आवश्यक देखिन्छ। अब नेपालले भारत र चीनसँगको कूटनीति मात्रै नभई अमेरिकाको चासोलाई समेत सम्बोधन गर्दै अघि बढ्नुपर्ने देखिन्छ। अमेरिकाले विदेश सहयोग नीतिलाई सीमित तुल्याइरहेको वर्तमान परिस्थितिमा नेपालले थप कूटनीतिक सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ।



