किन भयो पृथ्वीको आन्तरिक कोरको स्वरूप परिवर्तन ?

विगत २० वर्षमा पृथ्वीको सबैभन्दा भित्री भाग अर्थात् आन्तरिक कोरको स्वरूप फेरिएको हुन सक्ने वैज्ञानिकहरूको एक समूहले औंल्याएको छ। शोधकर्ताहरूका अनुसार, पृथ्वीको आन्तरिक कोर बलजस्तो गोलो रहेको ठानिए पनि केही स्थानमा यसको किनाराको उचाइ १०० मिटर वा सोभन्दा बढीले परिवर्तन हुन सक्ने सम्भावना देखिएको छ।
यस अनुसन्धानको नेतृत्व गरेका अमेरिकी वैज्ञानिक प्राध्यापक जोन भिडालका अनुसार पृथ्वीको आन्तरिक कोरबाट उत्पन्न हुने चुम्बकीय क्षेत्रले जीव र वनस्पतिलाई सूर्यको घातक विकिरणबाट सुरक्षा प्रदान गर्छ। त्यसैले यस भागलाई “पृथ्वीको मुटु” पनि भनिन्छ।
आन्तरिक कोरको गति र स्वरूपमा परिवर्तन
शोधकर्ताहरूका अनुसार, पृथ्वीको आन्तरिक कोर बाह्य कोरको तरल पदार्थसँग घर्षणमा आउँदा यसको गति पृथ्वीको परिक्रमा गर्ने गतिभन्दा कहिलेकाहीँ फरक हुन सक्छ। वैज्ञानिकहरूले पृथ्वीको आन्तरिक कोरको गति सन् २०१० मा घटेको र त्यसपछि पुनः वृद्धि भएको तथ्य फेला पारेका छन्।
प्रा. भिडालको टोलीले पृथ्वीको आन्तरिक कोरको स्वरूपसमेत समयक्रमसँगै परिवर्तन भइरहेको प्रमाण संकलन गरेको छ। वैज्ञानिकहरूको भनाइ अनुसार आन्तरिक कोरको तापक्रम पग्लिने बिन्दुनजिकै रहेको हुनाले बाह्य कोरसँगको सम्पर्कमा विभिन्न प्रकारका परिवर्तनहरू देखापर्न सक्छन्।
भूकम्पीय तरङ्गहरूद्वारा अनुसन्धान
वैज्ञानिकहरूले पृथ्वीको आन्तरिक भागको अध्ययन गर्न भूकम्पीय तरङ्गहरूको विश्लेषण गरेका छन्। १९९१ देखि २०२३ सम्म उही स्थानमा आएका भूकम्पका कारण सिर्जित तरङ्गहरूको प्रवृत्ति अध्ययन गर्दै आन्तरिक कोरको संरचनामा भएको परिवर्तनलाई मापन गरिएको थियो।
यूनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाका प्रा. भिडालका अनुसार यो अनुसन्धानले पृथ्वीको आन्तरिक कोरका पदार्थीय गुणहरू अझ राम्ररी बुझ्न महत्वपूर्ण योगदान पुर्याउन सक्छ। अस्ट्रेलियन नेशनल युनिभर्सिटीका प्रा. हर्भोये काल्चिकले यस अध्ययनले थप अनुसन्धान आवश्यक रहेको रोचक अवधारणा प्रस्तुत गरेको बताएका छन्।
भविष्यमा पृथ्वीको अवस्था
वैज्ञानिकहरूका अनुसार बाह्य कोर समयक्रमसँगै जमेर आन्तरिक कोरको रूपमा ठोस बन्दै जाने प्रक्रियामा छ। तर पूरै ठोस हुन अर्बौं वर्ष लाग्नेछ। त्यस बेलासम्म पृथ्वीमा जीव र वनस्पतिको अस्तित्व रहने सम्भावना न्यून छ। साथै, त्यतिबेलासम्म सूर्यको विस्तारका कारण पृथ्वी आफैं नष्ट भइसकेको हुन सक्ने सम्भावना पनि वैज्ञानिकहरूले औंल्याएका छन्।
प्रा. भिडालले पृथ्वीको आन्तरिक कोरको अध्ययन अहिलेसम्म सम्पूर्ण रूपमा निष्कर्षमा पुग्न नसकेको बताउँदै थप अनुसन्धान आवश्यक रहेको बताए। “हामीले पत्ता लगाएको कुराले हाम्रो दैनिक जीवनमा प्रत्यक्ष असर पार्दैन, तर पृथ्वीको मध्यभागमा के भइरहेको छ भन्ने बुझ्नका लागि यो अनुसन्धान अत्यन्त महत्वपूर्ण छ,” उनले भने।
उनका अनुसार पृथ्वीको चुम्बकीय क्षेत्रमा आएका परिवर्तनहरू र आन्तरिक कोरमा देखिएको स्वरूप परिवर्तनबीच कुनै सम्बन्ध हुन सक्ने सम्भावना छ। उनले विगतका केही दशकमा चुम्बकीय क्षेत्रमा देखिएका उतारचढाव र आन्तरिक कोरमा देखिएको परिवर्तनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरे।
वैज्ञानिकहरूले पृथ्वीको परिक्रमा तत्काल रोकिनेजस्तो आधारहीन दाबी नगर्न आग्रह गर्दै अनुसन्धानलाई अझ विश्वसनीय बनाउन थप प्रमाणहरू जुटाउनुपर्ने बताएका छन्।



