प्रतिनिधिसभामा प्रश्नोत्तर विवाद : प्रधानमन्त्रीले उत्तर दिन्नँ भन्न पाउँछन् ?

आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद प्रभु साहको प्रश्नको जवाफ नदिएपछि संसदमा बहस चुलिएको छ। प्रधानमन्त्रीको उत्तर नआएसँगै कार्यकारी प्रमुख र संसदबीच हुने अन्तरक्रियाको सीमा, औचित्य तथा उपादेयताबारे प्रश्न उठेको छ।
संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईका अनुसार प्रधानमन्त्रीले सकेसम्म सांसदहरूको प्रश्नको उत्तर दिनुपर्छ। तर, केही अपवादका अवस्थामा, विशेष गरी आक्रोशयुक्त, व्यक्तिगत लाञ्छना तथा कटाक्षपूर्ण प्रश्नहरूको उत्तर नदिन सकिने उनले बताएका छन्।
सांसद प्रभु साहले प्रधानमन्त्रीलाई नेपाली श्रमिकहरूको दयनीय अवस्था, देशबाट बाहिरिरहने रकम, वैदेशिक रोजगारमा रहेका युवाको ठूलो सङ्ख्या तर सोहीअनुसार विप्रेषण नआएको, कुल गार्हस्थ्य उत्पादनको तुलनामा कम रहेको राजस्व, भारत भ्रमण, अध्यादेश तथा सडकको दुरावस्थासम्बन्धी आठवटा प्रश्न सोधेका थिए।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ती प्रश्नहरूलाई ‘अपमानजनक’ भन्दै कुनै जवाफ नदिए। उनले भने, “उहाँका प्रश्नहरू विरोध, घृणा र आक्रोशले भरिएका छन्। संसद्को गरिमामय स्थानमा यस्तो भाषा उचित होइन।”
यस घटनापछि सांसद साहले प्रधानमन्त्रीलाई प्रश्नबाट भागेको आरोप लगाए। उनले फेसबुकमा लेखे, “प्रधानमन्त्रीको व्यवहार कानुनी शासनको उपहास हो। लोकतन्त्रमा प्रश्नको उत्तर नदिएर कति दिनसम्म भाग्नुहुन्छ?”
संसदीय मामिलाका जानकारहरूका अनुसार प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अभ्यास २०७३ सालदेखि सुरु भएको हो। तर, प्रश्नको स्तर तथा प्रधानमन्त्रीको जवाफदेहिता दुवै पक्षमा कमजोरी देखिएको बताइन्छ।
संसद्का पूर्वमहासचिव भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरू संसदमा प्रश्नबाट तर्किने परिपाटी विगतदेखि नै रहेको छ। उनले भने, “प्रधानमन्त्रीको दायित्व भनेकै जनताका प्रतिनिधिहरूलाई उत्तर दिनु हो। आइतवार उठेका प्रश्नहरू राजस्व, रोजगारी तथा जनजीवनसँग सम्बन्धित भएकाले तिनको उत्तर दिनु आवश्यक थियो।”
संसदीय मामिलाका टिप्पणीकार हरिबहादुर थापा अनुसार प्रश्नहरू स्पष्ट नभएमा प्रधानमन्त्रीलाई उम्कने अवसर मिल्छ। “पहिलेका संसदीय कालहरूमा हजारौँ प्रश्न उठाइन्थ्यो, अहिले भने सयौँमा सीमित छ। प्रश्नको महत्त्व घट्दै गएको देखिन्छ,” उनले भने।
यस विषयले संसदमा प्रधानमन्त्रीको उत्तरदायित्व कति मजबुत छ भन्ने बहस पुनः बलियो बनाएको छ।



