
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं ८ स्थित लिंक रोडबाट स्रोत नखुलेको नेपाली रुपैयाँ दश लाख नगदसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार अपराह्न करिब साढे १२ बजे भारतको बिहार राज्य, मोतीहारी जिल्ला, रक्सौल थाना, ग्राम रक्सौल वडा नं १७ निवासी २२ वर्षीय नेहाल कुमारलाई शंका लागि चेकजाँच गर्दा ठूलो मात्रामा नगद फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास भट्टका अनुसार कुमारको साथबाट कालो रंगको झोलामा लुकाइछिपाई राखिएको नेपाली रुपैयाँ १००० दरका ७०० थान नोट (जम्मा ७ लाख) र ५०० दरका ६०० थान नोट (जम्मा ३ लाख) गरी कुल १० लाख रुपैयाँ बरामद गरिएको हो।
पक्राउ परेका युवकमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए। प्रहरीले कुमारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइसकेको जनाएको छ।
प्रहरीले हुण्डी तथा अवैध आर्थिक कारोबार रोकथामका लागि निरन्तर निगरानी बढाइरहेको जनाएको छ। यस किसिमका आर्थिक अपराध नियन्त्रण गर्न प्रहरीले गम्भीर कदम चालेको र भविष्यमा समेत निगरानीलाई अझ कडा बनाइने बताइएको छ।



