No Image Headlineदेशमुख्य खबर

संसदमा मनिष झाको गर्जन-कुन ज्वाइँनारायणलाई प्रमुख बनाउन सशस्त्र प्रहरीमा बढुवा रोकियो ? (भिडियो)

सुरक्षा निकायमा राजनीति हाबी हुँदा बारम्बार थिति बिथोलिने गरेको छ । राजनीतिको शीर्ष नेतृत्वको व्यक्तिगत रुचीका व्यक्तिलाई ती निकायको शीर्षासनमा पुर्‍याउने हठका कारण सिंगो संगठन अनिर्णयको बन्दीमात्र होइन, निराशा, कुण्ठा र अक्रोश विस्तार भइरहेको छ । अहिले सशस्त्र प्रहरी यस्तै बेथितिको शिकार बनेको छ ।

सत्तासीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बाहिनी ज्वाइँ दीपेन्द्र कुँवरलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बनाउनकै लागि सो पदमा रिक्त भएको ५ महीनासम्म बढुवा नगरी रोकेर राखिएको छ ।

दीपेन्द्र कुँवरलाई ब्याच मिचेर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजी बनाउन पदोन्नति महिनौँदेखि रोकिएको हो। उनलाई भावी आइजिपीमा सुनिश्चित गर्न अघिल्लो ब्याचलाई नै उछिनेर डिआइजीमा बढुवा गर्न सशस्त्र प्रहरी मुख्यालयलाई दबाब दिइएको छ ।

यसबारेमा संसदमा कुरा उठिसक्दासमेत सरकारले बेवास्ता गर्नुलाई विधिको ठाडो उल्लंघनको रुपमा बुझ्न थालिएको छ । सांसद मनिष झाले सदनमै यसबारे कुरा उठाएका छन् । उनले प्रश्न गरेका छन् कुन ज्वाइँनारायणलाई प्रमुख बनाउन सशस्त्र प्रहरीमा बढुवा रोकियो ?

अदालतको अवहेलना

सर्वोच्च अदालतले समेत ०७५ मा सुरक्षा निकायमा कुनै रिक्त रहेको तीन महिनाभित्र बढुवाबाट पदपूर्ति गर्न सरकारलाई परमादेश दिएको थियो । आफ्ना निकटलाई बढुवाको चाँजोपाँजो मिलाउन अदालतको अवहेलना भएको जानकारहरु बताउँछन् ।

सञ्चारमाध्यम र सदनमा समेत यो कुरालाई लिएर प्रश्न उठिराख्दा सरकारको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । सशस्त्र प्रहरीमा १६ भदौदेखि दुई डिआइजीको पद रिक्त भएकोमा गत साता थप एकले अवकाश पाएका थिए ।

सशस्त्र प्रहरीमा हाल तीन डिआइजी, तीन एसएसपी, १५ एसपी, २५ डिएसपी र ७४ इन्स्पेक्टरको पद रिक्त छ । तर, ती डिआइजीको बढुवा रोकिँदा ती कुनै पनि रिक्त पदमा पदोन्नति हुन नसकेको हो ।

को हुन् कुँवर

दीपेन्द्र कुँवर ०५९ मा भर्ना भएका सशस्त्र प्रहरीको दोस्रो ब्याचका अधिकृत हुन् । इन्स्पेक्टरमा भर्ना हुँदा ७४औँ स्थानमा रहेका उनलाई डिएसपीबाट एसपी बनाउँदा १० औँ नम्बरमा तानिएको थियो ।

एसपीबाट एसएसपीमा पहिलो नम्बरमा तानिएको थियो । उनी कार्यसम्पादनमा भने कमजोर एसएसपी हुन् । कांग्रेस सभापति देउवाका भतिजको बहिनी ज्वाइँ हुनु नै उनको सबैभन्दा ठूदो योग्यता भएको भन्दै सशस्त्र प्रहरी अधिकारीहरु कटाक्ष गर्छन् ।

शक्तिकेन्द्रकै आडामा उनी एसएसपीमा पहिलो नम्बरमा बढुवा भएपछि सशस्त्र प्रहरीका लागि आकर्षक मानिने प्रबन्धक महाशाखाको प्रमुखको रुपमा तीन वर्षदेखि छन् । सशस्त्र प्रहरी नियमावलीअनुसार सामान्यतया डेढ वर्षसम्म मात्र एउटै कार्यालयमा रहने प्रावधान छ ।

कुँवरले सशस्त्र प्रहरीको स्टाफ कलेजको परीक्षा उत्तीर्ण गर्न नसकेपछि राजनीतिक पहुँचकै आधारमा नेपाली सेनामा पठाएर स्टाफ कलेज गराइएको जानकारहरु बताउँछन् । सशस्त्र प्रहरीमा स्टाफ कलेज नगरेका एसएसपीभन्दा माथिल्लो पदमा बढुवा नहुने प्रावधान छ ।

हाल डिआइजी बढुवामा नेपाल प्रहरीबाट स्थानान्तरण भएका कृष्ण पाठक सबैभन्दा सिनियर हुन् । एसएसपीहरू मनीष थापा र कृष्ण ढकाल पनि दाबेदार छन् । तर, दुई ब्याचलाई उछिनेर कुँवरलाई बढुवा गर्न दबाब दिइएको छ ।

एसएसपी प्रवीण कँडेल पनि डीआईजीका दाबेदार हुन्। राजनीतिक दबाबका कारण उनीभन्दा पछिका कुँवर डीआईजी बन्ने सम्भावना बलियो देखिएको छ।

विष्णु भट्ट, दिग्विजय सुवेदी पनि दाबेदार हुन् । यसरी एउटा व्यक्तिको लागि सशस्त्र प्रहरीमा लामो समयदेखि डीआईजी बढुवा नगरी राखिएपछि यो प्रहरी संगठनमा भुसको आगो झै असन्तुष्टि पैmलिएको र यसका कारण सशस्त्र प्रहरीको व्यावसायिकतामै आँच आउन सक्ने जोखिम बढेको भन्दै उच्च अधिकारीहरु चिन्तित देखिएको छ ।

यो प्रवृत्तिले अधिकारीहरु व्यावसायिकताभन्दा पनि बढुवाका लागि शक्ति केन्द्र रिझाउन उद्यत हुने स्थिति बनिरहेकोमा उनीहरुको चिन्ता छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button