एआई किन्ने एलन मस्कको प्रस्तावले चर्कियो साम अल्टम्यानसँगको विवाद

टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्क नेतृत्वको लगानीकर्ताको समूहले च्याटजीपीटी निर्माता ओपनएआईलाई ९७.४ अर्ब अमेरिकी डलरमा खरीद गर्ने प्रस्ताव राखेको छ। मस्कका कानुनी सल्लाहकार म्याक टियोबियोफले सोमबार उक्त प्रस्ताव पेश गरेका हुन्।
एआई प्रविधिको प्रभाव बढ्दो रहेको अवस्थामा ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यान र मस्कबीचको पुरानो विवाद पुनः चर्किएको छ। मस्कको सामाजिक सञ्जाल ‘एक्स’मार्फत अल्टम्यानले प्रतिक्रिया दिँदै लेखे, “धन्यवाद, तर यो आवश्यक छैन। बरु, तपाईं चाहनुहुन्छ भने म ९.७४ अर्ब डलरमा ट्विटर किन्ने विचार गर्न सक्छु।”
सन् २०१५ मा मस्क र अल्टम्यानले संयुक्त रूपमा ओपनएआई स्थापना गरेका थिए। तर, विभिन्न मतभेदका कारण मस्क सन् २०१८ मा अलग्गिएर टेस्लामा केन्द्रित भएका थिए। अब, मस्कको खरीद प्रस्तावले एआई उद्योगमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।



