No Image Headlineअन्तराष्ट्रिय

२७ वर्षपछि दिल्लीको सत्तामा भाजपा, कहाँ चुक्यो आम आदमी पार्टी ?

भारतको राजधानी दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा) ले विधानसभा चुनावमा ऐतिहासिक जित हासिल गरेको छ। ७० सिट रहेको दिल्ली विधानसभामा भाजपाले ४८ सिट जित्दै सरकार गठन गर्ने निश्चित गरेको छ भने आम आदमी पार्टी (आप) २२ सिटमा सीमित भएको छ। भारतको निर्वाचन आयोगका अनुसार, सरकार बनाउनका लागि ३५ भन्दा बढी सिट आवश्यक पर्नेमा भाजपाले स्पष्ट बहुमत प्राप्त गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत यो जितलाई “विकास र सुशासनको विजय” को रूपमा चित्रित गर्दै दिल्लीको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्।

भाजपा कसरी सफल भयो?

विश्लेषकहरूका अनुसार दिल्लीमा भाजपाको जित मोदीको लोकप्रियता, पार्टीको संगठनात्मक बल, र विपक्षी पार्टीको आन्तरिक समस्याका कारण सम्भव भएको हो। भाजपाले यसपटक कल्याणकारी योजनाहरू, सुशासन, र स्थिर सरकारको वाचा गर्दै चुनावी अभियान चलाएको थियो।

पछिल्लो आम चुनावमा बहुमत गुमाएको भाजपाले हरियाणा र महाराष्ट्रका विजयपछि दिल्लीमा यो जित दर्ता गरेको छ। दिल्लीको मध्यम वर्ग र मजदुर समुदायबीच भाजपाको प्रभाव बढ्दै गएको विश्लेषण गरिन्छ।

आपको पराजयको कारण

दिल्लीमा पछिल्ला दशकहरूमा शिक्षा, स्वास्थ्य तथा निःशुल्क सुविधाहरू सुधारका कारण आपको लोकप्रियता उच्च थियो। तर पछिल्लो समय पार्टीका नेताहरूविरुद्ध भ्रष्टाचारका आरोपहरू लाग्नु, केजरीवाल स्वयं जेल पर्नु, र पार्टीको पकड कमजोर हुनु पराजयका कारण बनेका छन्।

मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनिष सिसोडियाविरुद्ध लागेको भ्रष्टाचार आरोप तथा मदिरा नीति प्रकरणले आपलाई कमजोर बनाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

दिल्लीको शासन प्रणाली र चुनावी मुद्दा

दिल्ली सङ्घ प्रशासित क्षेत्र भएकाले यहाँ सार्वजनिक सुव्यवस्था, प्रहरी, र भूमि व्यवस्थापनको अधिकार सङ्घीय सरकार नियन्त्रित लेफ्टिनेन्ट गभर्नरअन्तर्गत पर्दछ। राज्य सरकारले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाका विषयमा निर्णय गर्न सक्छ।

यसपटक चुनावी अभियानमा निःशुल्क स्वास्थ्य सेवा, सरकारी विद्यालय सुधार, महिलाका लागि आर्थिक भत्ता, र कर छुटजस्ता मुद्दा प्रमुख रूपमा उठाइएका थिए। भाजपाले सन् २०३० सम्म दिल्लीको वायु प्रदूषण आधाले घटाउने प्रतिबद्धता पनि जनाएको थियो।

दिल्लीको राजनीतिक इतिहास

दिल्लीमा सन् १९९८ देखि २०१३ सम्म कांग्रेसको सरकार थियो। तर भ्रष्टाचारका आरोपपछि आम आदमी पार्टीले सत्ता कब्जा गरेको थियो।

भाजपाले ३० वर्षपछि राजधानीमा बहुमत ल्याउनु राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। दिल्लीको यो जितसँगै भाजपाले आगामी निर्वाचनका लागि बलियो आधार तयार पारेको छ भने आपको भविष्यबारे नयाँ प्रश्नहरू उठेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button