
चितवन जिल्ला अदालतमा सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा दर्ता भएसँगै भूतपूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध चार जिल्लामा मुद्दा परेको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेविरुद्ध साहारा सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गराएको सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदीले जानकारी दिएका छन्।
चितवन जिल्ला अदालतका प्रवक्ता अमृत विश्वकर्माका अनुसार लामिछानेविरुद्ध सहकारी संस्थाको रकम ठगीसम्बन्धी मात्र अभियोग लगाइएको छ। यसअघि ठगी आरोपमा १७ जनाविरुद्ध अभियोगपत्र दायर भएकोमा अहिले थप १५ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरिएको छ।
सूचना अधिकारी विश्वकर्माले बताएअनुसार पूरक अभियोगपत्रमा ३२ जनामध्ये १२ जनाविरुद्ध ठगी र सङ्गठित अपराध दुवै अभियोग दर्ता भएको छ। तर, रवि लामिछानेलाई सहकारी रकम ठगीको मात्र अभियोग लगाइएको छ। अभियोगपत्रमा ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ जाहेरीवालाहरूलाई क्षतिपूर्ति भराउनुपर्ने माग गरिएको छ।
धरौटीमा दुई करोडभन्दा बढी बुझाइसके
यसअघि कास्की, काठमाण्डू र रूपन्देही जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ता भइसकेको थियो। लामिछानेले हालसम्म धरौटी बापत सवा दुई करोड रुपैयाँ बुझाइसकेका छन्।
सबैभन्दा पहिला कास्की जिल्ला अदालतले गत पुस २५ गते उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसपछि काठमाण्डू जिल्ला अदालतले माघ २ गते ६० लाख रुपैयाँमा थुनामुक्त गर्यो। रूपन्देही जिल्ला अदालतले भने माघ १३ गते सबैभन्दा बढी एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
कास्की र काठमाण्डू जिल्ला अदालत दुवैले थुनछेक बहसका लागि लामिछानेलाई थुनामा पठाएका थिए।



