No Image Headlineअन्तराष्ट्रिय

अमेरिकी सामानहरूमा जबाफी शुल्क लगाउने चीनको घोषणा

संयुक्त राज्य अमेरिकाले चीनबाट आयात गरिने सामानहरूमा थप शुल्क लगाएपछि, चीनले पनि अमेरिकाबाट आयात हुने विभिन्न सामानमा नयाँ कर लगाउने घोषणा गरेको छ।

चीनले घोषणा गरेका नयाँ शुल्कहरू आउँदो सोमवारदेखि लागू हुनेछन्। तर, यसले अमेरिकाको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना कम रहेको विश्लेषकहरूले बताएका छन्।

चीनले जबाफी कदमस्वरूप अमेरिकी कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको छ। साथै, अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि औजार, पिकअप ट्रक, र ठूला इन्जिन भएका कारहरूमा १० प्रतिशत कर लगाइने भएको छ।

बेइजिङ्गको यो घोषणा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा नयाँ १० प्रतिशत शुल्क लगाउने निर्णय कार्यान्वयनमा आएपछि गरिएको हो।

अन्तर्राष्ट्रिय व्यापार उल्लङ्घनको आरोप

चीनले जारी गरेको वक्तव्यमा ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय व्यापार नीतिहरू उल्लङ्घन गरेको आरोप लगाइएको छ।

“अमेरिकाले एकपक्षीय रूपमा लगाएका यी शुल्कहरूले विश्व व्यापार सङ्गठन (WTO) का नीतिहरू गम्भीर रूपमा उल्लङ्घन गरेका छन्। यी कदमहरू समस्याहरूको समाधानका लागि असहयोगी मात्र होइनन्, चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापार सहकार्यलाई पनि कमजोर पार्ने खालका छन्,” चीनले वक्तव्यमा उल्लेख गरेको छ।

शुल्क घोषणा ‘जस्तालाई तस्तै’ रणनीति

विश्लेषकहरूका अनुसार चीनको यो निर्णय ‘जस्तालाई तस्तै’ रणनीतिको हिस्सा हो। चीनले अमेरिकी अर्थतन्त्रका विभिन्न पक्षहरूमा असर पार्ने हिसाबले ऊर्जादेखि निश्चित खालका उद्योगसम्मलाई निशाना बनाएको देखिन्छ।

यद्यपि, चीनले अमेरिकाबाट आयात गरिने सबै सामानहरूमा शुल्क नलगाई निश्चित उत्पादनहरूमा मात्र कर वृद्धि गरेको छ।

बेइजिङ्गस्थित बीबीसीकी चीन संवाददाता लउरा बिकरका अनुसार चीनको प्रतिकारात्मक शुल्क ट्रम्प प्रशासनले लगाएको करभन्दा सीमित देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button