बढ्दै व्यापार घाटा, निर्यात-आयात असन्तुलन उस्तै

चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ५८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, सो अवधिमा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने व्यापार घाटा दुई दशमलव छ प्रतिशतले घटेको थियो।
निर्यात-आयात अनुपातमा केही सुधार देखिएको छ। समीक्षा अवधिमा निर्यात-आयात अनुपात १२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको नौ दशमलव आठ प्रतिशतको तुलनामा उल्लेखनीय वृद्धि हो।
चालु आर्थिक वर्षको छ महिनामा निर्यात क्षेत्रले सकारात्मक गति लिएको देखिन्छ। कुल वस्तु निर्यात ३१ दशमलव आठ प्रतिशतले वृद्धि भई रु ९८ अर्ब ७९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा सात दशमलव दुई प्रतिशतले गिरावट आएको थियो। गन्तव्यअनुसार भारततर्फको निर्यात ४६ दशमलव एक प्रतिशत, चीनतर्फको १९ दशमलव सात प्रतिशत, तथा अन्य मुलुकतर्फको निर्यात एक प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत रूपमा हेर्दा, सोयाबिन तेल, चिया, पोलिस्टर यार्न, पार्टिकल बोर्ड, अलैँची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोसाक तथा जडीबुटीको निर्यात घटेको छ।
यता, आयात क्षेत्र भने अझै उच्च दरले बढिरहेको छ। समीक्षा अवधिमा कुल वस्तु आयात सात दशमलव एक प्रतिशतले वृद्धि भई रु आठ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयातमा तीन दशमलव एक प्रतिशतले गिरावट आएको थियो। भारतबाट आयात पाँच दशमलव नौ प्रतिशत, चीनबाट आठ दशमलव नौ प्रतिशत, तथा अन्य मुलुकबाट नौ प्रतिशतले वृद्धि भएको छ।
कच्चा भटमास तेल, चामल/धान, यातायात उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, स्पन्ज आइरन, र खाने तेल लगायतका वस्तुको आयात उल्लेखनीय रूपमा बढेको छ। तर, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल तथा केराउको आयात भने घटेको छ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिने निर्यातमा गिरावट आएको छ। जबकि, आयाततर्फ सुख्खा बन्दरगाह बाहेक भैरहवा, विराटनगर, वीरगञ्ज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका प्रमुख नाकाबाट आयात उल्लेखनीय रूपमा बढेको छ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु ८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। गत वर्ष सोही अवधिमा यस्तो आयात रु ७६ अर्ब २५ करोड बराबरको थियो।
विप्रेषण आप्रवाहको वृद्धिसँगै व्यापार घाटाको असन्तुलनलाई कम गर्न निर्यात वृद्धिका लागि नीति तथा कार्यक्रमहरू थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ।



