आर्थिक शक्ति व्यापार युद्धमा आमनेसामने : अरु देशलाई कस्तो असर ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशमा उत्पादित वस्तुहरूको संरक्षण गर्ने उद्देश्यले क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा थप कर लगाउने घोषणा गरेका छन्। यस कदमको जवाफमा क्यानडा र मेक्सिकोले पनि अमेरिकी वस्तुहरूमा सोही अनुपातको आयात कर लगाउने घोषणा गरेका छन्।



क्यानडाको प्रतिक्रिया



क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी उत्पादनहरूमा १५५ अर्ब डलर बराबरको आयात शुल्क लगाउने निर्णय लिएको घोषणा गरेका छन्। यस शुल्कले अमेरिकाबाट आयात हुने बियर, वाइन, फलफूल, तरकारी, लत्ताकपडा, जुत्ता, फर्निचर, खेलकुद सामाग्री र संवेदनशील खनिजहरूमा असर पार्नेछ। उनले अमेरिकासँगको व्यापार सम्बन्धलाई असर पार्ने यो कर आवश्यक कदम भएको बताए।



“हामी यस्तो स्थितिमा पुग्न चाहँदैनथ्यौं, तर क्यानडाको नागरिकको पक्षमा उभिन हामी पछि हट्दैनौं,” ट्रुडोले भने। साथै, क्यानडाले अमेरिकासँगको सीमा सुरक्षाका लागि ९० करोड डलरको योजना कार्यान्वयन गर्ने वाचा गरेको छ।
मेक्सिकोको प्रतिक्रिया
मेक्सिकोकी राष्ट्रपतिले अमेरिकी कदमलाई ‘अपमानजनक’ भन्दै कडा आलोचना गरिन्। उनले अमेरिकी प्रशासनले मेक्सिको सरकारलाई लागुपदार्थ कारोबारीहरूसँग जोड्ने आरोप अस्वीकार गरिन्। साथै, अमेरिकी बन्दुक उत्पादकहरूले आपराधिक समूहलाई हतियार बेच्ने आरोप लगाउँदै मेक्सिकोले हतियार तस्करी रोक्न निरन्तर माग गरिरहेको बताइन्।
सबैभन्दा महत्वपूर्ण रूपमा, उनले अर्थ सचिवलाई ‘प्लान बी’ अर्थात वैकल्पिक योजना कार्यान्वयन गर्न निर्देशन दिइन्, जसमा अमेरिकी वस्तुहरूमा २५ प्रतिशत आयात कर लगाइने अपेक्षा गरिएको छ।
चीनको प्रतिक्रिया
चीनले पनि अमेरिकाको निर्णयको कडा आलोचना गर्दै यसलाई विश्व व्यापार संगठनको नियमविपरीत भएको बताएको छ। बेइजिङले ‘मिल्दोजुल्दो जवाफी कदम’ चाल्ने र मुद्दा दायर गर्ने बताएको छ। चीनले अमेरिकालाई आफ्नो निर्णय सच्याउन आग्रह गर्दै ‘समानता, आपसी लाभ र आपसी सम्मान’ मा आधारित संवाद गर्न आह्वान गरेको छ।
व्यापक असर
विश्लेषकहरूका अनुसार यी करहरूको असरले अमेरिका, क्यानडा र मेक्सिकोबीचको व्यापार सम्बन्धमा तनाव बढाउनेछ। यस कदमले कार, स्टिल, फ्रेन्च फ्राइज, टमाटर, एभोकाडो, बियर जस्ता वस्तुहरूको मूल्य वृद्धिसँगै अटोमोबाइल उद्योगमा गम्भीर असर पार्नेछ। अनुमान गरिएअनुसार अमेरिकामा कारको मूल्य औसतमा ३,००० डलरसम्मले बढ्न सक्छ।
अमेरिकी प्रशासनको नयाँ नीति मङ्गलवारदेखि कार्यान्वयनमा आउनेछ। अब आगामी दिनमा यी मुलुकहरूबीचको व्यापारिक सम्बन्ध कसरी अघि बढ्छ भन्ने चासोको विषय बनेको छ।