खबर फटाफटदेश

पर्सामा एचपीभी खोप अभियानको तयारी अन्तिम चरणमा, ३८ हजार ५५७ किशोरीलाई लगाइने

पर्सा जिल्लामा माघ २२ गतेदेखि सुरु हुने महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साले खोप अभियानबारे जानकारी गराएको हो।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण सिंहका अनुसार माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियानमा ३८ हजार ५५७ बालिका र किशोरीलाई खोप लगाइनेछ। विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिका र किशोरीलाई खोप दिइनेछ।

दुई चरणमा सञ्चालन हुने अभियान

खोप अभियान दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरण माघ २२ देखि माघ २८ गतेसम्म चल्नेछ, जसअन्तर्गत वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १ देखि १६, पर्सागढी र पोखरिया नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुर गाउँपालिकामा खोप दिइनेछ।

दोस्रो चरण माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। यसअन्तर्गत वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७ देखि ३२, बहुदरमाई नगरपालिका, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, बिन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकामा लक्षित समूहका बालिका र किशोरीलाई खोप लगाइनेछ।

३४५ खोप केन्द्र स्थापना

अभियानका लागि पर्सा जिल्लाका १४ पालिकाका ११२ वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा ३४५ खोप केन्द्र स्थापना गरिनेछ। यी केन्द्रहरूमा ६९० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिने जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

समन्वय र आग्रह

जिल्ला खोप समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियानलाई सफल पार्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गरे। उनले कुनै पूर्वाग्रह नराखी लक्षित उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए।

अभियानलाई विवादरहित बनाउन प्रमुख जिल्ला अधिकारी अर्यालले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, राजनीतिक दलका अगुवा र सञ्चारकर्मीलाई समन्वय गर्न आग्रह गरे।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button