भवन निर्माणको माग गर्दै नारायणी अस्पतालका स्वास्थ्यकर्मीको प्रदर्शन

नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले अस्पतालको जीर्ण भौतिक संरचनाको सुधार तथा नयाँ भवन निर्माणको माग गर्दै शुक्रबार सडकमा धर्ना दिएका छन्। पाँच सय शय्याको नयाँ भवन निर्माण गर्नुपर्ने मागसहित गरिएको धर्नाका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो।
भवन निर्माण संघर्ष समितिका संयोजक डा. निरज सिंहको नेतृत्वमा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूका अनुसार नेपालकै पुराना अस्पतालमध्ये एक नारायणी अस्पताल जीर्ण अवस्थामा पुगेको छ। स्थानीय दाताहरूले बनाइदिएका पुराना भवनमै दशकौँदेखि अस्पताल सञ्चालन हुँदै आएकाले बिरामी र स्वास्थ्यकर्मी दुवैले सास्ती खेप्नुपरेको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०७४/७५ मा प्रत्येक प्रदेशमा ५०० शय्याको अस्पताल निर्माण गर्ने निर्णय गरे पनि नारायणी अस्पतालको भवन निर्माण अझै सुरु हुन सकेको छैन। १ अर्ब ५५ करोड रुपैयाँको लागतमा निर्माण हुने भनिएको अस्पताल भवनसम्बन्धी बोलपत्र प्रक्रिया विवादमा परेको र हाल न्यायिक निरुपणको पर्खाइमा रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
नयाँ भवनको अभावमा पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लाका बिरामीहरू उपचार सेवाबाट वञ्चित भइरहेका छन्। करिब ३० लाख जनसंख्यालाई सेवा दिइरहेको नारायणी अस्पतालमा भौतिक संरचनाको अभावले स्वास्थ्यकर्मीहरू आफ्नो सम्पूर्ण क्षमताअनुसार सेवा दिन नसकेको गुनासो गर्छन्।
स्वास्थ्यकर्मीहरूले यदि तत्काल भवन निर्माण प्रक्रिया अघि नबढाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।



