भिडभाडमा किन हुन्छ भागदौड, कसरी जोगिने ?
धार्मिक तथा ठूला सार्वजनिक भेलामा यस्ता दुर्घटनाहरू दोहोरिइरहेका छन्। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भ मेलामा स्नान गर्न गएका भक्तजनको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्। उक्त घटनाले ठूलो जनधनको क्षति पुर्याएको छ।
केही महिनाअघि उत्तर प्रदेशको हाथरसमा आयोजित धार्मिक सभामा भागदौड हुँदा १२० जनाको ज्यान गएको थियो। यस्तै, साउदी अरबको मक्कामा हजका क्रममा कैयौँ पटक भागदौड मच्चिएको छ। सन् २०१५ मा त्यहाँ २,३०० जनाले ज्यान गुमाएका थिए।
भागदौडको प्रमुख कारणहरू
विशेषज्ञहरूका अनुसार भिड व्यवस्थापनमा कमजोरी, सुरक्षाको अभाव, तथा आयोजनाको अव्यवस्थित प्रणाली यस्ता घटनाका मुख्य कारण हुन्।
इङ्ग्ल्यान्डको यूनिभर्सिटी अफ ससिक्सका भिड व्यवस्थापन विज्ञ प्राध्यापक जोन ड्रूरीका अनुसार भागदौडको अवस्था सिर्जना हुने प्रमुख कारण “भिडको घनत्व” हो। उनले भने, “यदि प्रतिवर्गमिटर पाँच जनाभन्दा बढी मानिस भेला भए, विशेषगरी आठदेखि नौ जना हुँदा, भागदौडको जोखिम उच्च हुन्छ।”
ठूलो भेलामा भागदौड मच्चिनुको अर्को कारण मानिसहरू निस्किने प्रयास गर्दा हुने भीडभाड हो। यदि बाहिरिने ढोका साँघुरो छ भने मानिसहरू एकैपटक निस्किन खोज्दा दबाब सिर्जना हुन्छ।
यदि तपाईँ भागदौडमा पर्नुभयो भने तपाईँले यसो गर्नुपर्छ :
- बक्सिङ खेलाडीले झैँ छातीअगाडि हात राख्नुहोस् र दह्रोसँग खुट्टा टेक्नुहोस्
- भिडको बललाई प्रतिरोध नगर्नुहोस्
- भिडको गति रोकिँदा छड्के दिशातिरबाट छेउतिर जानुहोस्
- दह्रोसँग खुट्टा टेक्नुहोस्
- यदि लड्नुभयो भने भकुन्डो जसरी ‘डल्लो परेर’ आफूलाई जोगाउनुहोस्
- शान्त रहने प्रयास गर्नुहोस् र सकेसम्म छिटो उठ्नुहोस्
भागदौडको असर र रोकथामका उपाय
विशेषज्ञहरूका अनुसार भिडभाडका बेला सास फेर्न कठिन हुनसक्छ। आकस्मिक चिकित्सा विशेषज्ञ डा. डेभिन टानका अनुसार, “थिचिएको अवस्थामा श्वासप्रश्वासमा असर पर्छ, जसले अक्सिजनको आपूर्ति रोकिन्छ र व्यक्तिको मृत्यु हुन सक्छ।”
यस्ता घटनाहरू रोक्न आयोजकहरूले भिड व्यवस्थापनको उचित योजना बनाउनुपर्ने देखिन्छ। प्राध्यापक ड्रूरीका अनुसार, “प्रत्येक ठाउँमा कति मानिस अटाउन सक्नेछन् भन्ने निर्धारण गरी सोहीअनुसार व्यवस्थापन गर्नुपर्छ।”
विशेषगरी धार्मिक भेलामा ठूला संख्यामा मानिसहरू एकैपटक उपस्थित हुन खोज्ने भएकाले समयतालिका बनाएर भिडलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिइएको छ।
धार्मिक, सांस्कृतिक, खेलकुद तथा अन्य ठूला भेलामा यस्ता भागदौडका घटनाहरू दोहोरिन नदिन सुरक्षाका उपाय अपनाउन जरुरी देखिन्छ। उचित व्यवस्थापन, भिडको घनत्वको अनुगमन, तथा आपतकालीन निकासको स्पष्ट रणनीति अवलम्बन गर्न सके यस्ता दुर्घटनाबाट बच्न सकिन्छ।



