No Image Headlineदेश

विद्याको राजनीति मोह, ओलीलाई निल्नु न ओकल्नु !

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा फर्कने संकेत गर्दै सक्रियता बढाएकी छिन्। अध्यक्ष केपी शर्मा ओलीको असहमतिका बाबजुद भण्डारीको यो सक्रियताले एमालेभित्र नयाँ खालको हलचल सिर्जना गर्ने सम्भावना देखिएको छ।

सोमबार विराटनगरमा आयोजित कार्यक्रममा भण्डारीले आफ्नो राजनीतिक उपस्थितिलाई थप प्रस्ट्याउँदै भनिन्, “राष्ट्रपतिको पद गैर राजनीतिक होइन। म राष्ट्रिय राजनीतिमा सक्रिय छु।” उनले शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन र वैदेशिक रोजगारी जस्ता विषयमा छलफल गरिरहेको बताउँदै राजनीतिमा सक्रिय रहने आफ्नो संकेत दिइन्।

‘एमालेमै फर्कने सम्भावना छ’
एमालेमै आफ्नो राजनीतिक यात्रा शुरू गरेको भन्दै उनले भनिन्, “दलीय राजनीतिमा लाग्ने हो भने एमालेमै फर्कने सम्भावना छ। तर, अहिले त्यो छलफलको चरणमा पुगेको छैन।” अध्यक्ष ओलीले भण्डारीको सक्रियताप्रति असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपतिले राष्ट्रिय सम्मानका साथ बस्नुपर्ने बताएका छन्। तर, पार्टीभित्रका असन्तुष्ट नेताहरू भण्डारीको पक्षमा वकालत गरिरहेका छन्।

विराटनगरमा रणनीतिक भेटघाट
भण्डारीले आफ्नो राजनीतिक यात्रा थालेको क्षेत्र विराटनगरमा हप्तौं बसेर नेताहरू, व्यापारी, विद्यार्थी, र विज्ञहरूसँग भेटघाट गरिरहेकी छन्। यो गतिविधिलाई एमालेभित्र नयाँ समीकरण बनाउने रणनीति मानिएको छ।

भण्डारीले मदन भण्डारी स्मृति प्रतिष्ठान र ट्रमा सेन्टरको कार्यक्रममा प्राथमिकता दिँदै आफ्नो सक्रियतालाई थप विस्तार गरेकी छन्।

ओलीको नेतृत्वविरुद्ध बढ्दो असन्तोष
एमालेभित्र ओलीको नेतृत्वलाई लिएर असन्तोष बढिरहेको बेला भण्डारीको यो सक्रियताले पार्टीभित्र शक्ति सन्तुलनमा परिवर्तन ल्याउने चर्चा भइरहेको छ। केही नेताहरूले अब ओलीबाट पार्टी चल्न नसक्ने बताउन थालेका छन्।

भण्डारीले आफ्नो राजनीतिक भविष्यका बारेमा स्पष्ट निर्णय नगरे पनि उनको सक्रियताले एमालेभित्रको आन्तरिक राजनीति गर्माएको छ। विश्लेषकहरूका अनुसार, यो क्रियाकलापले एमालेको आगामी रणनीतिमा ठूलो प्रभाव पार्न सक्छ।

विद्या भण्डारीको राजनीतिक सक्रियता र ओलीसँगको मतभिन्नता एमालेका लागि नयाँ चुनौति बनेको छ। पार्टीभित्रको यो शक्ति सन्तुलनले नेपाली राजनीतिमा आगामी दिनमा महत्वपूर्ण मोड ल्याउने देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button