No Image Headlineअन्तराष्ट्रिययस्तो पनिविशेष

बम्बईको इतिहासमै रहस्यमय हत्या: एक व्यापारीको मृत्यु, सुन्दरी मुमताज बेगमको विवादास्पद कथा

सन् १९२५, जनवरी १२ — बम्बई, भारत।

धनी व्यक्तिहरूको इलाका मालाबार हिलमा एक रहस्यमय घटना भयो, जसले समकालीन भारतमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि ठूलो चर्चा पायो। उक्त घटनाले ब्रिटिश औपनिवेशिक शासन र भारतका शाही दरबारहरूबीचको सम्बन्धलाई झट्का दिएको थियो।

हत्या र रहस्यको प्रारम्भ
मालाबार हिलको एक सडकमा २५ वर्षीय व्यापारी अब्दुल कादिर बावलाको हत्या भयो। उनी कपडा व्यवसायमा सफलता हासिल गरेका र नगरपालिकामा सक्रिय थिए। सो साँझ उनी कारमा २२ वर्षीया महिला मुमताज बेगमसहित थिए।
एक्कासि, उनीहरूको कारलाई अर्को कारले रोकेको थियो। त्यसपछि केही हमलाकारीले बावलामाथि गोली चलाए। घटनास्थलमै घाइते भएका बावलाको मृत्यु भयो। मुमताज बेगमको अनुहारमा पनि आक्रमण गरी उनी घाइते भइन्।

मुमताज बेगम को थिइन्?
मुमताज बेगम बम्बईका चर्चित व्यक्तित्व बन्नुअघि इन्दौर राज्यका महाराजा तुकोजीराव होल्कर तृतीयसँग सम्बन्धित थिइन्। उनलाई इन्दौर दरबारमा ‘भित्रिनी’ अर्थात् राजा निकट महिला मानिन्थ्यो। सुन्दरताका लागि प्रख्यात मुमताज र महाराजाबीचको सम्बन्ध भने समयसँगै टुटफुटमा पुगेको थियो।

घटनाको पछाडि इन्दौरको संलग्नता?
अनुसन्धानका क्रममा घटनाका सूत्रहरू इन्दौर राज्यसम्म पुगे। पक्राउ परेका अधिकांश हमलाकारीहरू महाराजाको सेवा गर्ने व्यक्ति थिए। उनीहरूले बिदा लिएर बम्बई पुगेको प्रमाण फेला पर्‍यो।
मुमताजले अदालतमा बयान दिँदै महाराजाका मानिसहरूले बावलालाई धम्की दिएको खुलासा गरिन्। बावलाले यी चेतावनीहरू वेवास्ता गरेको र अन्ततः आफ्नो ज्यान गुमाउनुपरेको मुमताजले बताइन्।

ब्रिटिश सरकारको दबाब र महाराजाको राजीनामा
हत्या अनुसन्धानले ब्रिटिश इन्डियालाई ठूलो अप्ठेरोमा पार्‍यो। घटना बम्बईमा भए पनि षड्यन्त्र इन्दौरमा योजना भएको देखिन्थ्यो। इन्दौरका महाराजा तुकोजीराव होल्करलाई जबाफदेही बनाउन ब्रिटिश सरकारले दुई विकल्प दिए— अनुसन्धान आयोगको सामना गर्ने या राजगद्दी त्याग्ने। महाराजाले राजीनामा गरे।

अदालतको फैसला र मोहम्मद अली जिन्नाहको भूमिका
बम्बई उच्च अदालतमा यो मुद्दा चर्चाको केन्द्र बन्यो। वकिल मोहम्मद अली जिन्नाह, जो पछि पाकिस्तानका संस्थापक बने, अभियुक्तहरूमध्ये एकको तर्फबाट वकालत गर्दै उनलाई मृत्युदण्डबाट जोगाउन सफल भए। अदालतले तीन जनालाई मृत्युदण्ड र तीन जनालाई आजीवन कारावासको सजाय सुनायो।

मुमताज बेगमको हराउँदो यात्रा
हत्या अनुसन्धान र अदालतको प्रक्रियापछि मुमताज बेगमको कथा थप रोचक मोडमा गयो। हलिवुडबाट प्रस्ताव पाएको बताइने मुमताज बेगम अमेरिका गइन्। त्यसपछि उनी गुमनाम भइन्।

यो घटना सामान्य हत्या थिएन। यसले एक धनी व्यापारी, एक सुन्दरी महिला र एक राजा बीचको रहस्यलाई समेट्यो। “बावलाको हत्या केस” इतिहासकै सबैभन्दा सनसनीपूर्ण अपराधका रूपमा आज पनि स्मरण गरिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button