No Image Headlineखबर फटाफटदेश

पर्साका पत्रकारलाई निःशुल्क कानूनी सेवा उपलब्ध गराउने समझदारी (समझदारी पत्रसहित)

पर्साका पत्रकारहरूले अब निःशुल्क कानूनी सेवा पाउने भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा र नेपाल बार एसोसिएसन पर्सा जिल्ला अदालतबीच यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र बार एसोसिएसन पर्साका अध्यक्ष कमलमोहन पोखरेलले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार पर्सा जिल्लामा पत्रकारिता गर्ने पत्रकारहरूले समाचार लेखनका क्रममा मुद्दा परेमा आर्थिक भार व्यहोर्नु नपर्ने व्यवस्था गरिएको छ। बार एसोसिएसनले आफ्ना सदस्य कानूनी व्यवसायीमार्फत आवश्यक कानूनी सेवा निःशुल्क उपलब्ध गराउनेछ।

दुवै पक्षले व्यावसायिक प्रवर्द्धन र पारस्परिक हित सुरक्षाका लागि सकारात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। पत्रकारहरूले कानून व्यवसायीहरूको पेशागत हित प्रवर्द्धनमा सहयोग र सहजीकरण गर्ने पनि समझदारीमा उल्लेख छ। समझदारी तीन वर्षसम्म कायम रहनेछ।

समझदारीको उद्देश्य लोकतन्त्र र विधिको शासनको पक्षमा पत्रकार र कानून व्यवसायीबीचको सहकार्यलाई बलियो र संस्थागत बनाउनु हो। महासंघका अध्यक्ष खनालले लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य भएको बताउँदै विभिन्न बाहानामा प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयास भइरहेको उल्लेख गरे। “विधिको शासन, नागरिक सर्वोच्चता, सुशासन र समृद्धिका लागि लोकतन्त्र बलियो बनाउनु आवश्यक छ,” खनालले भने।

बार एसोसिएसनका अध्यक्ष पोखरेलले पेशागत सुरक्षा र प्रवर्द्धनसँगै मानव अधिकार, सामाजिक न्याय, सुशासन र पर्सा जिल्लाको सामाजिक-आर्थिक र न्यायिक क्षेत्रको उन्नतिका लागि सहकार्य गरिने बताए। उनका अनुसार सामाजिक मुद्दामा केन्द्रित बहस र अन्तरक्रियाहरू सञ्चालन गरिनेछ, जसले विधिको शासनलाई बलियो बनाउन सहयोग पुर्‍याउनेछ।

समझदारीपत्र

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button