
बाराको महागढीमाई नगरपालिकामा रहेको गढीमाई मन्दिर परिसरमा पाँचवर्षीय गढीमाई मेला सम्पन्न भएपछि विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ। महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर क्षेत्रमा थुप्रिएको फोहरलाई हटाउन नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा व्यापक सरसफाई गरिएको हो।
नगर प्रमुख यादवले ‘स्वच्छ वातावरण, हाम्रो सामूहिक जिम्मेवारी’ नाराका साथ जनप्रतिनिधि, स्थानीय समाजसेवी, र नगर प्रहरीको सहकार्यमा सरसफाई अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए। मन्दिर क्षेत्रको दुर्गन्धित अवस्थालाई निरुत्साहित गर्न भक्तजन, नगरवासी, र विभिन्न समूहको सहभागिताले मन्दिर परिसरलाई पूर्णरूपमा सफा गरिएको छ।
यादवले गढीमाई मन्दिर विश्वभरका भक्तजनको आस्थाको केन्द्र भएकोले स्वच्छ र आकर्षक वातावरण सुनिश्चित गर्न कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे। सरसफाई अभियानले मन्दिरमा आउने भक्तजनलाई स्वच्छ वातावरणको अनुभव गराउने विश्वास समेत व्यक्त गरिएको छ।
नगर प्रमुख यादवले भविष्यमा पनि मन्दिर परिसरलाई सफा राख्न निरन्तर ध्यान दिने र सामुदायिक सहभागितालाई प्राथमिकता दिने योजना रहेको बताए।



