अन्तरिक्ष डकिङमा सफलता हासिल गर्दै भारत विश्वको चौथो देश बन्यो

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले बिहीबार अन्तरिक्ष डकिङमा सफलता प्राप्त गरेको छ। यस उपलब्धिसँगै भारत अन्तरिक्ष डकिङ गर्ने विश्वको चौथो देश बनेको छ। इसरोका अनुसार अमेरिका, रूस, र चीनले यसअघि यो प्रविधिमा सफलता हासिल गरिसकेका थिए।



इसरोले दुई साना अन्तरिक्ष यान एसडीएक्स ०१ (चेजर) र एसडीएक्स ०२ (टार्गेट) लाई अन्तरिक्षमा सफलतापूर्वक जोड्ने (डकिङ) गरेको हो। यो मिशन ‘स्पाडेक्स’ (स्पेस डकिङ एक्सपेरीमेन्ट) अन्तर्गत गरिएको हो। गत डिसेम्बर ३० मा यी दुई यानलाई भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट एउटै रकेटमार्फत प्रक्षेपण गरिएको थियो।



डकिङ सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा आफ्नो प्रतिक्रियामा भनेका छन्, “आगामी वर्षहरूमा भारतको महत्त्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो महत्त्वपूर्ण खुड्किलो हो।”



यस मिशनअन्तर्गत दुई अन्तरिक्ष यान प्रत्येकको तौल लगभग २२० किलोग्राम थियो। प्रक्षेपणपछि दुवै यानलाई १०–२० किलोमिटरको दूरीमा राखिएको थियो। प्रारम्भमा डकिङ ७ जनवरीमा गर्ने योजना थियो, तर थप परीक्षण आवश्यक भएकाले यो प्रक्रिया दुई दिन पछाडि सारिएको इसरोले जनाएको छ।
इसरोका अधिकारीका अनुसार अब चेजरले टार्गेटमा विद्युतीय शक्ति स्थानान्तरण गर्ने परीक्षण गर्नेछ। यो मिशनले अन्तरिक्षमा अर्को यानलाई सहयोग गर्न सकिने सम्भावना पुष्टि गर्नेछ।
स्टेम एन्ड स्पेसकी सहसंस्थापक तथा नासाकी पूर्ववैज्ञानिक मिला मित्राका अनुसार, “यो मिशनले अन्तरिक्ष सेवाको लागि नयाँ सम्भावना खुला गर्नेछ।”
मिशन अन्तर्गत यानहरूले वैज्ञानिक उपकरण र क्यामेरा प्रयोग गर्दै आगामी दुई वर्षसम्म अन्तरिक्षमा विकिरण मापन र पृथ्वीका प्राकृतिक स्रोतहरूको अनुगमन गर्नेछन्। इसरोले डकिङपछि यानहरूलाई सुरक्षित दूरीमा राख्दै तथ्यांक विश्लेषण गरिरहेको जानकारी दिएको छ।
भारतको यस सफलताले भविष्यमा अन्तरिक्ष स्टेशन निर्माण गर्ने र चन्द्रमामा मानव पठाउने महत्वाकांक्षी योजनालाई टेवा पुर्याउने विश्वास गरिएको छ।