युद्ध विराममा सहमति, कार्यान्वयनमा ढिलाइ: इजरायली प्रधानमन्त्रीको हमासमाथि आरोप

इजरायल र हमासबीच प्रस्तावित युद्ध विराम कार्यान्वयनमा ढिलाइ भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले अन्तिम समयमा सहमति पत्रमा संशोधन गर्न खोजेको आरोप लगाउँदै यो प्रस्ताव क्याबिनेटमा पेश गर्न ढिलाइ गरेका हुन्।



यस विषयमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले केही प्रगतिसहित समाधान नजिक पुगेको बताएका छन्। ब्लिन्केनका अनुसार आइतबारदेखि युद्ध विराम लागू हुने सम्भावना छ। यद्यपि, इजरायली सुरक्षा क्याबिनेटले पास नगरेसम्म युद्ध विराम लागु नहुने इजरायली अधिकारीहरूले बताएका छन्।



हमासको मागले समस्या थपियो
हमासले युद्ध विराममा सहमति जनाएको भए पनि अन्तिम समयमा बन्दी सूचीमा केही नयाँ नाम थप्न माग गरेपछि समस्या उत्पन्न भएको बताइएको छ। बुधबार युद्ध विरामको खाका तयार भए पनि त्यसबीच इजरायली हवाई आक्रमणका कारण ८० जनाको मृत्यु भएको छ।



क्याबिनेटको निर्णयको पर्खाइ
बिहीबार युद्ध विराम प्रस्ताव क्याबिनेटमा पेश गर्न ढिलाइ भएपछि नेतान्याहुले यसमा हमासको दोष रहेको बताएका छन्। शुक्रबार फेरि क्याबिनेटमा छलफल हुने विश्वास गरिएको छ। इजरायली सञ्चार माध्यमका अनुसार अधिकांश मन्त्री युद्ध विराम प्रस्तावको पक्षमा छन्।
तर, उग्र दक्षिणपन्थी दलका सुरक्षा मन्त्री इतमार बेन गिभिरले युद्ध विराम भएमा सत्ता छाड्ने धम्की दिएका छन्। उनको दल ओहत्जमा यहुदी र अर्थमन्त्री बेजलल स्मोटरिचले पनि प्रस्तावको विरोध गर्दै सत्ता त्याग्न सक्ने संकेत गरेका छन्।
युद्ध विरामको पहिलो चरण
युद्ध विरामको पहिलो चरणमा प्यालेस्टिनी बन्दीहरूको रिहाइमा सहमति भएको छ। पहिलो चरणमा ३३ बन्दी रिहा गरिनेछ भने गाजाको पूर्वी भागबाट इजरायली सेना फिर्ता हुने छ।
यससँगै, विस्थापित नागरिकहरू घर फर्कन पाउनेछन्, र सहयोग सामग्री ओसारपसार गर्ने ट्रकहरू निर्बाध रूपमा गाजामा प्रवेश गर्न पाउनेछन्। पहिलो चरण १६ दिनसम्म जारी रहनेछ।
यस अवधिपछि अन्य बन्दीहरू रिहा गर्ने र इजरायलले पूर्ण रूपमा उक्त क्षेत्र छाड्ने प्रक्रिया अघि बढ्ने सहमति भएको छ। युद्ध विरामको अन्तिम कार्यान्वयन र क्याबिनेटको निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ।