
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी हिनामिना प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई तत्काल रिहा गर्ने भए पनि उनलाई अहिले नै निर्दोष भन्न नसकिने ठहर गरेको छ।



स्वर्णलक्ष्मी सहकारीको करिब १ अर्ब १९ करोड रुपैयाँ हिनामिना भएको आरोपमा लामिछानेविरुद्ध अनुसन्धान भइरहेको छ। अदालतले आफ्नो आदेशमा “प्रमाण परीक्षणको क्रममा कसुर पुष्टि भए बमोजिम हुने” उल्लेख गर्दै उनलाई धरौटीमा रिहा गरेको हो।



न्यायाधीश अधिकारीले आदेशमा भनेका छन्, “अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था छैन। प्रस्तुत मुद्दाको प्रकृति समेतलाई मध्यनजर राखी, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम धरौटी माग गरिएको हो।”



स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा लामिछानेलाई दोषी ठहर हुने वा नहुने विषय प्रमाण परीक्षणपछि मात्र निर्धारण हुने अदालतको भनाइ छ।
यसअघि, पोखरास्थित सूर्यदर्शन सहकारी हिनामिना प्रकरणमा पनि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। सो मुद्दामा गत बिहीबार उनलाई ६५ लाख धरौटीमा रिहा गरिएको थियो।
स्वर्णलक्ष्मी प्रकरणमा अदालतले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धान देखाएको जनाएको छ। अदालतले मुद्दाको पुर्पक्षका लागि प्रमाणहरू परीक्षण गर्दै अघि बढ्ने स्पष्ट पारेको छ।
गोर्खा मिडियामा लामिछानेको संलग्नताको विषयमा पनि अदालतले चर्चा गर्दै केही आधार देखिएको उल्लेख गरेको छ।
यो प्रकरणमा अदालतको आदेशपछि लामिछाने अहिले धरौटीमा छुटे पनि मुद्दा टुंगो लाग्न बाँकी छ।
पाँच आधार
गोरखा नेटवर्क मिडिया प्रालिमा शेयर होल्डर एवम् प्रबन्ध निर्देशक हुनुभन्दाअघि नै प्रतिवादी रवि लामिछानेसमेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी ग्लोबल आईएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको ।
प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रालिको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको ।
रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) को नाममा ऋण खाता खोली ४६ लाख, ९८ हजार फोर ह्वेलर लोन र ४६ लाख, ४८ हजार ईको सेभेन सिटर भ्यान लोन गरी कूल ९३ लाख ४६ हजार ऋण लिएको ।
रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको ।
गोर्खा मिडिया नेटवर्क प्रालिको खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिएको ।