भारतको प्रयागराजमा महाकुम्भ, करोडौं श्रद्धालुको सहभागिता

भारतको प्रयागराजमा १४४ वर्षपछि महाकुम्भ मेला सुरु भएको छ। मेलामा भाग लिन करोडभन्दा बढी श्रद्धालु आइपुगेका छन् भने तीर्थयात्रीको आगमन निरन्तर जारी छ।



श्रद्धालुले गंगा, यमुना र अदृश्य सरस्वतीको संगममा स्नान गर्दै पापबाट मुक्ति पाउने धार्मिक विश्वास छ। सोमबार साँझसम्म १ करोड ६० लाखले स्नान गरेको र मंगलबार यो संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ।



मेलाका लागि नदी किनारमा ४ हजार हेक्टरमा फैलिएको टेन्ट सिटी निर्माण गरिएको छ। तीर्थयात्रीका लागि अस्थायी रूपमा ६५० किलोमिटर सडक, १ लाख ६० हजार टेन्ट, १ लाख ५० हजार शौचालय, ३० वटा पेन्टुन पुल र ६७ हजार सडक बत्ती जस्ता व्यवस्था गरिएको छ।



४५ दिनसम्म चल्ने मेलामा ४० करोडभन्दा बढी श्रद्धालु आउने अनुमान गरिएको छ। उत्तर प्रदेश सरकारले मेलाको आयोजनामा ७० अर्ब भारु खर्च गरेको र यसबाट साढे २ खर्ब भारुको आम्दानी हुने अपेक्षा गरेको छ।
यस पटकको कुम्भ मेला १२ ओटा कुम्भ पर्वपछि ग्रह र नक्षत्रको विशेष स्थितिका कारण महाकुम्भ भएको बताइएको छ। हिन्दू सन्त महन्त रविन्द्र पुरीका अनुसार, यस मेलालाई धार्मिक र खगोलीय दृष्टिले विशेष मानिएको छ।
सुविधा र असन्तुष्टि
मेलामा ४० हजार प्रहरी, १५ हजार सरसफाईकर्मी खटाइएका छन्। यद्यपि, केही श्रद्धालुले सुविधा अपुरो रहेको गुनासो गरेका छन्। ६० वर्षीय भिक्षु बाबा अमरनाथजीका अनुसार, प्रशासनले टेन्टमा सित्तैमा बस्न दिने व्यवस्था हटाएको छ।
मेलाको समापन फागुन १४ गते महाशिवरात्रिको दिन हुनेछ। भारतको प्रयागराजमा महाकुम्भको यो संस्करण विश्वकै सबैभन्दा ठूलो धार्मिक मेलाका रूपमा प्रस्तुत भएको छ।