No Image Headlineअर्थविशेष

मधेश प्रदेशका उद्योगको उत्पादन क्षमता खुम्चियो, औसत उपयोग ५१ प्रतिशतमा सीमित

मधेश प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमता आर्थिक वर्ष २०८०/८१ मा ५१ दशमलव ०३ प्रतिशतमा खुम्चिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेश प्रदेश) अनुसार, अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो क्षमता औसतमा ६१ दशमलव ५६ प्रतिशत रहेको थियो। यस वर्ष उद्योगहरुको क्षमता १० दशमलव ५३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

सबैभन्दा धेरै र कम क्षमता उपयोग भएका उद्योगहरू

हल्का पेयपदार्थ उद्योगले ९७ दशमलव ७८ प्रतिशत क्षमताको उपयोग गर्दै सबैभन्दा प्रभावकारी उद्योगको रूपमा आफूलाई उभ्याएको छ। यसको विपरीत, वनस्पति घीउ उद्योगको क्षमता उपयोग न्यूनतम शूल्य दशमलव ४० प्रतिशतमा सीमित भएको छ।

रिपोर्टअनुसार, वनस्पति घीउ उद्योगमा गिरावटको मुख्य कारण भटमास तेल र पाल्म तेलको प्रयोगमा वृद्धि भएसँगै यसको माग घट्नु हो। गार्हस्थ्य तथा औद्योगिक प्रयोगमा कमी आएसँगै उत्पादन क्षमतामा ठूलो गिरावट आएको जनाइएको छ।

उद्योगगत उत्पादन क्षमतामा गिरावट

राष्ट्र बैंकको प्रतिवेदनले फलामको छड तथा पत्ती उद्योग, प्लास्टिकजन्य उद्योग, र छाला तथा छालाजन्य उत्पादन उद्योगको उत्पादन क्षमता पनि अघिल्लो वर्षको तुलनामा घटेको देखाएको छ। फलामको छड तथा पत्ती उद्योगले यस वर्ष ४१ दशमलव २५ प्रतिशत क्षमता उपयोग गरेको छ, जब कि अघिल्लो वर्ष यो ९१ दशमलव ९६ प्रतिशत थियो। सिमेन्ट उद्योगले यस वर्ष ३७ दशमलव ६९ प्रतिशत क्षमता उपयोग गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै मात्र घटेको हो।

अन्य उद्योगहरूको अवस्था

गहुँको पीठो उद्योगले ७३ दशमलव ६९ प्रतिशत क्षमता उपयोग गरेको छ भने आल्मुनियम उत्पादन उद्योगले ८५ दशमलव ७५ प्रतिशतको उपयोग देखाएको छ। भटमास तेल उद्योगको क्षमता १४ दशमलव २३ प्रतिशतमा सीमित हुँदा साबुन उद्योगले २९ दशमलव १९ प्रतिशत क्षमताको उपयोग गरेको छ। केमिकल लिक्युड पदार्थ उत्पादन उद्योगले ४३ दशमलव २६ प्रतिशत क्षमताको उपयोग गरेको छ।

राष्ट्रिय बैंकको सिफारिश

रिपोर्टमा अधिकांश उद्योगहरु ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित रहेको र यसको सुधारका लागि आवश्यक कदम चाल्नुपर्ने औंल्याइएको छ। श्रमिक, ऊर्जा आपूर्ति, र बजार जस्ता समस्याहरू समाधान गर्दै उद्योगलाई वर्षभरि सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोर दिइएको छ।

प्रतिवेदनमा कच्चापदार्थको नोक्सानी कम गर्दै उत्पादन लागत घटाउन र उद्योगलाई बढी क्षमतामा सञ्चालन गर्ने नीति अपनाउनुपर्ने उल्लेख गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button