No Image Headlineस्वास्थ्य/जिवनशैली

चीनमा फैलिएको एचएमपीभी भाइरसले त्रास, महामारीकै रूपमा फैलिने सम्भावना न्यून

चीनमा हालै ह्युमन मेटान्यूमो भाइरस (एचएमपीभी) संक्रमणले समस्या निम्त्याउँदै गर्दा भारतमा पनि यसको फाट्टफुट्ट बिरामी देखिन थालेका छन्। यसले नेपालमा समेत त्रासको माहोल सिर्जना गरेको छ। केही वर्षअघि चीनबाट फैलिएको कोभिड-१९ ले विश्वव्यापी महामारीको रूप लिएको घटनाको स्मरण गर्दै कतै यस भाइरसले पनि त्यस्तै भयावह अवस्था ल्याउने हो कि भन्ने चिन्ता सर्वत्र फैलिएको छ।

तर, यो भाइरस नयाँ नभएको र सतर्कता अपनाए पर्याप्त हुने चिकित्सकहरूले बताएका छन्।

पुरानो भाइरस, ठोस उपचार उपलब्ध

कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार एचएमपीभी कुनै नयाँ भाइरस होइन। चिसो मौसममा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या धेरै देखिनु सामान्य हो। यस भाइरसका कारण बालबालिका बढी प्रभावित हुने गरेको उनले बताए।

“हाम्रो अस्पतालमा दैनिक आउने सय बिरामीमध्ये १०–१२ जनालाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ। तर यो अवस्था अति गम्भीर नभई सामान्य नै हो,” डा. चापागाईंले भने।

उनका अनुसार नेपालमा पहिले पनि यस्तो भाइरस देखिएको छ। यो रुघाखोकीजन्य भाइरसको एक प्रकार हो, जुन चिसो मौसममा सक्रिय भइ केही समयपछि आफैं हराएर जान्छ।

डा. चापागाईंले एचएमपीभी कोभिडजस्तो महामारीको रूप लिने सम्भावना धेरै न्यून रहेको बताए। चीन र भारतमा केही बिरामी देखिए पनि ठूलो संख्यामा मृत्यु वा अस्पतालमा भीड बढेको अवस्था नरहेको उनको भनाइ छ।

नेपालमा पनि भाइरस परीक्षणको आवश्यकता नदेखिएको र स्वास्थ्य प्रणालीले सम्भावित समस्या सामना गर्न सक्ने अवस्था रहेको उनले प्रस्ट्याए।

भाइरसबाट बच्न सुझाव

डा. चापागाईंले रुघाखोकीबाट जोगिन सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताए। खाना खानुअघि र खाइसकेपछि साबुनपानीले हात धुने, भीडभाडमा मास्क लगाउने, रुघाखोकी लागेको व्यक्तिसँग दूरी कायम गर्नेजस्ता उपाय उपयोगी हुने उनले सुझाए।

बालबालिकालाई पोषणयुक्त खाना, प्रशस्त झोलिलो पदार्थ सेवन गराउने र सरकारी खोप कार्यक्रम अन्तर्गत सबै खोप लगाउन ध्यान दिनुपर्नेमा उनले जोड दिए।

“यो भाइरस कमजोर प्रतिरोधी क्षमता भएका मानिसलाई छिटो आक्रमण गर्ने सम्भावना हुन्छ। त्यसैले खोप लगाएर अन्य रोगबाट सुरक्षित हुनु पनि महत्त्वपूर्ण छ,” उनले भने।

डाक्टरहरूको भनाइमा चिसो मौसममा यस्ता भाइरस सक्रिय हुने भए पनि सतर्कता र स्वास्थ्य चेतना अपनाएमा समस्या गम्भीर बन्ने सम्भावना कम छ। अतः आत्तिनुभन्दा सजग भएर स्वास्थ्य मापदण्ड पालना गर्न उनीहरूले आग्रह गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button