माघ महिनाको शुभारम्भ : स्वस्थानी व्रत र शालीनदी मेला सुरु

वैदिक सनातन परम्पराअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म नेपालमा माघ स्नान, स्वस्थानी व्रत, र शक्तिपीठहरूको पूजा आराधना गरिन्छ। आजदेखि यस परम्पराको विधिवत् सुरुवात भएको छ।



सतीदेवीको अङ्ग पतन भएको स्थानलाई शक्तिपीठ मानेर देवीदेवताहरूको पूजा गर्ने प्रचलनले यो परम्परालाई विशेष महत्त्व दिएको छ। एक महिनासम्म चल्ने यस व्रतमा विशेषगरी महिलाहरू सहभागी हुने गरेका छन्।



स्वस्थानी व्रतको परम्पराका विषयमा अध्ययन गरेकी अमेरिकी धर्मशास्त्री डा. जेसिका भेन्तिन बिर्केनहोल्जका अनुसार यस्तो परम्परा दक्षिण एसियाको अन्य कुनै देशमा पाइँदैन। डा. जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्मशास्त्र विषयकी उपप्राध्यापकका रूपमा कार्यरत छन्।



स्वस्थानी व्रतका विधि र महत्त्व
पौष शुक्ल चतुर्दशीका दिन नङ काटेर शुद्ध वस्त्रमा माघ स्नान गरेर व्रत सुरु गरिन्छ। बिहान स्नानपछि महादेवको पूजा गरिन्छ भने बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत स्वस्थानी व्रत कथा वाचन गरिन्छ।
माघ शुक्ल पूर्णिमाका दिन १०८ प्रकारका वस्तुहरू चढाएर व्रत समाप्त गरिन्छ। सुवर्ण वर्णकी, त्रिनेत्रधारी, कमल र सिंहासनमा आसिन चार हात भएकी देवीलाई स्कन्द पुराणमा स्वस्थानी देवीका रूपमा उल्लेख गरिएको छ।
धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार स्वस्थानी व्रतले बिछोड भएका जोडीको पुनर्मिलन, रोग निवारण, र इच्छित जीवनसाथी प्राप्त हुने विश्वास छ। हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको कथा पनि यस अवसरमा सुनाइन्छ।
साँखुमा शालीनदी मेला सुरु
पौष शुक्ल पूर्णिमाका दिनदेखि एक महिनासम्म काठमाडौंको साँखुस्थित शालीनदीमा माघ स्नान र माधवनारायणको मेला सुरु भएको छ।
“माघ महिनामा शालीनदीमा स्नान र माधवनारायणको दर्शनले पाप पखालिएर पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वास छ,” इतिहासकार प्रकाश श्रेष्ठले बताए। मेलामा लाखौं भक्तजनको सहभागिता रहने विश्वास गरिएको छ।
मेला व्यवस्थापन समितिका अनुसार शालीनदीको मेला सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय महत्त्वका कारण यो मेला नेपालका भक्तजनहरूको प्रमुख आकर्षण बनिरहेको छ।