No Image Headlineअर्थदेश

महानगरले नहर पुरेर सडक बनाउन थालेपछि किसानको विरोध किन ?

वीरगंज महानगरपालिकाले सिंचाइका लागि बनाइएको नहरलाई पुरेर सडक निर्माण सुरु गरेपछि स्थानीयबासी आन्दोलित भएका छन्। महानगरको यो कदमले हजारौं किसानको खेत सिंचाइबाट वञ्चित हुने खतरा रहेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजको नाममा रहेको नहरको जग्गा महानगरले स्वीकृति विना नै पुरेर सडक बनाउन थालेको स्थानीयको गुनासो छ। कार्यालयको ट्रेस नक्साका अनुसार वीमनपा–१९ (तत्कालीन बर्वागोग टोल–६०) स्थित टर्सरी नहरको कित्ता नम्बर २८६ को जग्गा सिंचाइ कार्यालयको नाममा छ।

सिंचाइ कार्यालयका प्रमुख मनोज पटेलले महानगरको यो कार्यलाई गैरकानूनी भने। “नेपाल सरकारले स्थानीय किसानहरूको खेत सिंचाइका लागि उक्त नहर बनाएको हो। हालसम्म पनि नहरबाटै खेतहरूमा सिंचाइ हुँदै आएको छ। तर, महानगरले कुनै सूचना नदिई रातारात नहर पुरेर सडक बनाउन थालेको छ,” उनले भने।

प्रमुख पटेलका अनुसार, बृजकिशोर यादवलगायत २० जनाको हस्ताक्षर सहितको उजुरी आएपछि मात्र कार्यालयले घटनाबारे जानकारी पाएको हो।

किसानहरूको माग: सिंचाइको पहुँच कायम राख्नुपर्ने
गण्डक नहर ब्लक नं ५ अन्तर्गत मूल नहरबाट बहुअरी, भौराटार, विश्रामपुर हुँदै केहुनियासम्म फैलिएको करिब एक किलोमिटर नहर महानगरले सडक बनाउने उद्देश्यले पुरिरहेको छ। यो सडक निर्माणमा करिब एक करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।

तर, यस कार्यले पर्सा जिल्लाका किसानहरूलाई गम्भीर समस्यामा पार्नेछ। पानी अभावमा खेती गर्दै आएका किसानहरू अझै संकटमा पर्ने डर छ।

प्रशासनको हस्तक्षेप, काम रोक्न निर्देशन
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले किसानहरूको माग जायज रहेको बताउँदै महानगरलाई काम रोक्न निर्देशन दिएका छन्। “महानगरको काम तत्काल रोक्नका लागि प्रहरीलाई आदेश दिइएको छ,” उनले भने।

किसानहरूले पनि प्रमुख जिल्ला अधिकारीसँग भेट गरी समस्या समाधानको माग गरेका छन्। उनीहरूले सिंचाइ व्यवस्थापनलाई कायम राख्न र महानगरको एकतर्फी निर्णय खारेज गर्न आग्रह गरेका छन्।

महानगर र किसानबीचको विवादले सिंचाइ व्यवस्थापन र स्थानीय विकासबीचको समन्वयको अभावलाई उजागर गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button