तिब्बतमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या ९५ पुग्यो, सयौं घर भत्किए

चीनको तिब्बत क्षेत्रमा मङ्गलबार बिहान गएको ७.१ म्याग्निट्यूडको शक्तिशाली भूकम्पले कम्तीमा ९५ जनाको ज्यान गएको र सयौं घर भत्किएको छ। भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सीमावर्ती सगरमाथा क्षेत्रनजिकै रहेको र यो जमिनभन्दा १० किलोमिटर गहिराइमा गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।
भूकम्पपछि तिब्बतको शिगात्से क्षेत्रमा १,००० भन्दा बढी भवन ध्वस्त भएका छन्। १३० जना घाइते भएका र क्षेत्रका विद्युत् तथा जल वितरण प्रणाली अवरुद्ध भएको चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन्।
चिनियाँ सेनाले भग्नावशेषमा खोजी गर्न मानवरहित ड्रोन परिचालन गरेको छ भने उद्धारकर्ताहरूले कठ्याङ्ग्रिने जाडोबाट बच्न प्रभावितहरूलाई कम्बल वितरण गरिरहेका छन्। राष्ट्रपति सी जिन्पिङले प्रभावित क्षेत्रमा व्यापक खोज तथा उद्धार प्रयासका लागि निर्देशन दिएका छन्।
नेपालका उत्तरी जिल्लाहरूमा भूकम्पको असर महसुस भएको छ। कोशी प्रदेशको ओखलढुङ्गा, सोलुखुम्बु, र सङ्खुवासभामा केही घरमा सामान्य क्षति पुगेको छ। तर, अहिलेसम्म ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छैन।
खुम्बु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पका बेला बेसरी हल्लिएको तर ठूला क्षति नभएको जानकारी दिएका छन्। उनका अनुसार, गोक्यो ताल र इम्जा ताल जमेका कारण सम्भावित क्षति रोकिएको आकलन गरिएको छ।
भूकम्पको धक्का भारतको बिहार, पश्चिम बंगाल, दिल्ली, र असमका साथै भुटानका विभिन्न क्षेत्रमा पनि महसुस गरिएको छ।
भूकम्पपछि तिब्बतको शिगात्से क्षेत्रमा कैयौं परकम्प मापन गरिएको छ। नेपालमा पनि लोबुचे क्षेत्रको उत्तरपूर्वी चिनियाँ भूमिलाई केन्द्र बनाएर आधा दर्जनभन्दा बढी परकम्प गएको छ।
सन् २००८ मा सिचुआन प्रान्तमा गएको भूकम्पले ७०,००० जनाको ज्यान लिएको थियो। यो क्षेत्रमा बारम्बार भूकम्प जाने गर्दछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, सिन्धुपाल्चोक, र उत्तरी धादिङमा भूकम्पको प्रभाव पर्ने सम्भावना रहेको जनाएको छ।
नेपाल प्रहरी र प्रशासनले क्षतिको विवरण सङ्कलन गरिरहेको छ। अहिलेका प्रारम्भिक रिपोर्टले नेपालमा ठूला मानवीय क्षति नभएको देखाएको छ।



