
नेपाल प्रहरीले नक्कली प्रहरी निरीक्षक बनेर ठगी धन्दामा संलग्न सुदीप थापालाई पक्राउ गरेको छ। उनलाई कागेश्वरी मनोहरा नगरपालिका–७, थापाचोकबाट पक्राउ गरिएको हो।
थापाले प्रहरी निरीक्षकको पोशाकको दुरुपयोग गरी किर्ते परिचय पत्र बनाएर विभिन्न व्यक्तिहरूलाई ठगी गर्दै आएको प्रहरीको दाबी छ। विशेष बढुवा सिफारिस सूचीको किर्ते पत्र तयार गरी, युनिफर्ममा खिचेको फोटो देखाउँदै, आफूले उच्च पदस्थ व्यक्तिहरूसँग सम्बन्ध रहेको झुठो दाबी गरेर ठगी गरेको आरोप छ।
गोप्य सूचनाको आधारमा भएको अनुसन्धानले थापाले वैदेशिक रोजगारको प्रलोभन देखाई क्यानडा र अस्ट्रेलिया पठाइदिने बहानामा ठगी गरेको खुलासा गरेको छ।
यसै प्रकरणमा किर्ते प्रहरी परिचय पत्र बनाउन सहयोग गर्ने कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक किशोरकुमार चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।



