बीपी उद्यानमा रहेका अस्थायी संरचना हटाउन वीरगञ्ज महानगरको अभियान, कस्तो छ तयारी ?

वीरगञ्ज महानगरपालिकाले घण्टाघरचोक नजिकै रहेको बीपी उद्यानमा निर्माण भएका अस्थायी घर–टहरा हटाउन थालेको छ। महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरे पनि अटेरी भएपछि आइतबारदेखि डोजर प्रयोग गरी उद्यान खाली गराएको हो।
नगर प्रहरी प्रमुख हरि भुसालका अनुसार यस अभियानअन्तर्गत करिब ४० अस्थायी संरचना हटाइसकिएको छ। भुसालले भने, “दुई पटक सार्वजनिक सूचना जारी गर्दा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर संरचना हटाउन बाध्य भयौं।”
२५० भन्दा बढी अस्थायी व्यवसाय सञ्चालनमा
महानगरका अनुसार बीपी उद्यानमा तरकारी, फलफूल, कपडा पसल, खानाका स्टल, र मासु पसलसहित करिब २५० अस्थायी व्यवसाय सञ्चालनमा रहेका थिए। नगरप्रहरी प्रमुख भुसालले व्यापारीहरूलाई विकल्प उपलब्ध गराउँदै उद्यान खाली गरिएको जानकारी दिए। “यहाँ व्यापार गर्दै आएका ९० प्रतिशतभन्दा धेरै वीरगञ्जका स्थानीय हुन्, भने केही भारतीय नागरिक पनि छन्। ती व्यापारीहरूलाई वडा नम्बर १६, नगरवास्थित कृषि बजारमा स्थानान्तरण गरिएको छ,” उनले बताए।
नयाँ पार्क निर्माणको तयारी
महानगरपालिकाले अतिक्रमणबाट खाली गराइएको स्थानलाई व्यवस्थित गरी पर्यटक आकर्षणको केन्द्र बनाउने योजना सार्वजनिक गरेको छ। नगरप्रमुख भुसालले खाली गराइएको क्षेत्रलाई आधुनिक शैलीको पार्कका रूपमा विकास गर्ने बताए।
यस कदमका कारण प्रभावित व्यापारीहरूले महानगरको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मासु पसल सञ्चालन गर्दै आएका ओकेबहादुर शाहीले आफूहरूलाई स्थानान्तरण नगरिकन हटाइँदा बिचल्लीमा परेको गुनासो गरे।
सूचना जारीपछि डोजरको प्रयोग
महानगरले मंसिर २६ गते पहिलो पटक १५ दिने सूचना जारी गर्दै उद्यान खाली गर्न निर्देशन दिएको थियो। उक्त समयसीमा पुस १० गते सकिएको थियो। तर, व्यवसायीहरूले अटेरी गरेपछि पुस १२ गते दोस्रो पटक सात दिने सूचना जारी गरिएको थियो। त्यसपछि पनि अटेर भएपछि आइतबार डोजर प्रयोग गरी संरचना हटाइएको हो।
महानगरपालिकाले बीपी उद्यानलाई पर्यटक आकर्षणको केन्द्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा थप सुधारका काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



