अन्तराष्ट्रिय

अमेरिका: चिसो आँधीका कारण ३० राज्य प्रभावित, आपतकाल घोषणा

अमेरिकामा चिसो हावाहुरी र भीषण आँधीका कारण लाखौँ मानिस संकटमा परेका छन्। राष्ट्रिय मौसम सेवाका अनुसार ३० राज्यका ६ करोडभन्दा बढी व्यक्ति यस आँधीबाट प्रभावित भएका छन्। यो आँधीले दशककै सबैभन्दा कम तापक्रम ल्याउन सक्ने अनुमान गरिएको छ, जसका कारण हिमपात र कठ्याङ्ग्रिने चिसोको समस्या थपिने आशंका छ।

आँधीका कारण देशभर धेरै उडानहरू रद्द भएका छन् भने विद्यालयहरू बन्द गरिएका छन्। अमेरिकाको मध्य क्षेत्रबाट सुरु भएको यो आँधी पूर्वतर्फ सर्ने अनुमान गरिएको छ।

आपतकाल घोषणा गरिएका क्षेत्रहरू

चिसो आँधीको प्रभावलाई मध्यनजर गर्दै केन्टुकी, भर्जिनिया, कान्सास, अर्कान्सास, र मिसौरीलगायत राज्यहरूमा आपतकाल घोषणा गरिएको छ। न्युजर्सीका केही क्षेत्रमा पनि आपतकालीन अवस्था लागु गरिएको छ।

४६ विमानस्थलमा सतर्कता अपनाउन निर्देशन दिइएको छ। साथै, धेरै एयरलाइन्सले उडान स्थगित गर्दै यात्रुहरूलाई नयाँ मितिका लागि टिकट पुनः जारी गरिरहेका छन्।

तापक्रम र हिमपातको स्थिति

आँधीका कारण तापक्रम अत्यन्तै न्यून पुगेको छ। लोआमा माइनस २९ डिग्री सेल्सियस तापक्रम हुने अनुमान गरिएको छ। कान्सास र मिसौरीमा आइतबार साँझसम्म नौ इन्चसम्म हिउँ परेको छ, जसले यातायात र जनजीवन थप कष्टकर बनाएको छ।

विशेष गरी कान्सासमा सबैभन्दा धेरै हिमपात भएको छ, भने बाल्टिमोरलगायत पूर्वी क्षेत्रहरूमा आँधीको ठूलो प्रभाव पर्ने चेतावनी दिइएको छ। रातभर चिसो र हिमपातको तीव्रता अझै बढ्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button