देशमुख्य खबरविशेष

ओलीको गृह जिल्लाबाटै रावलको जागरण अभियान, ओलीलाई ७४ प्रश्न

नेकपा एमालेबाट निष्कासित नेता डा. भीमबहादुर रावलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७४ प्रश्न गरेका छन्। बुधबार बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा रावलले ३१ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्दै प्रश्न राखेका हुन्।

एमालेले पुस ११ गतेको सचिवालय बैठकमार्फत डा. रावललाई निष्कासित गरेको थियो। यसको जवाफमा रावलले एमाले नेतृत्वको शैली, कुशासन, भ्रष्टाचार, र पार्टीभित्रको अधिनायकवादप्रति आपत्ति जनाउँदै आफूले अब एमालेमा नफर्कने घोषणा गरे।

‘मातृभूमि जागरण अभियान’को घोषणा

डा. रावलले ‘मातृभूमि जागरण अभियान’ नामक नयाँ अभियान घोषणा गरेका छन्। अभियानले देशका सम्पूर्ण देशभक्त, असन्तुष्ट शक्तिहरू, र नयाँ पुस्तासँग सहकार्य गर्ने उनको योजना छ। उनले अभियानको सुरुवात ओलीको गृहजिल्ला झापा बाट गर्ने निर्णय गरेका छन्।

रावलले भने, “देशभक्त र अभियन्ताहरूसँग सहकार्य गर्दै जनता र देशका मुद्दामा खरो रूपमा उत्रिनेछु। अहिले युवापुस्ता निराश छ, विदेशिने स्थिति भयावह छ। यो अवस्थाको अन्त्य गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ।”

७४ प्रश्न र आलोचना

रावलले ओलीप्रति ७४ वटा प्रश्न राख्दै पार्टीभित्रको अधिनायकवादी शैली, सिद्धान्तहीनता, र अन्यायपूर्ण व्यवहारलाई मुख्य कारणका रूपमा उल्लेख गरे। उनले ओलीलाई महाधिवेशनको प्रसंग उठाउँदै प्रश्न गरे, “मैले महाधिवेशनमा उम्मेदवारी दिँदा प्रश्न उठाउने ओलीले किन आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधव नेपालसँग प्रतिस्पर्धा गर्नुभयो?”

डा. रावलले देशका सम्पूर्ण जिल्लामा पुगेर जनताको सुझाव लिने र त्यसपछि मात्र नयाँ पार्टी खोल्ने या स्वतन्त्र अभियान चलाउने निर्णय गर्ने बताए। “सबै जिल्लाबाट सुझाव लिइसकेपछि मात्र अन्तिम निर्णय हुनेछ,” उनले भने।

अभियानलाई युवालक्षित बनाउने तयारी रहेको रावलले बताए। उनले भने, “युवाहरू राजनीतिप्रति निराश छन्। अभियानले नयाँ ऊर्जा दिनेछ। देशका प्रत्येक गाउँ, नगर र बस्तीमा पुगेर विचार आदानप्रदान गर्नेछु।”

एमालेबाट ४९ वर्षसम्म सदस्यका रूपमा कार्य गरेका रावलले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “पार्टीले इमानदार कार्यकर्तालाई बहिष्कार गर्ने र दलाललाई प्रश्रय दिने नीति लिएको छ। यो नीति परिवर्तन गर्न आवश्यक छ।”

पत्रकार सम्मेलनमा युवा जमातको बाक्लो उपस्थिति देखियो। ३१ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेपछि रावलप्रति सहानुभूति राख्ने कार्यकर्ताले हुटिङ र नाराबाजी गरेका थिए।

डा. रावलले आगामी पुस २१ र २२ गतेको एमाले केन्द्रीय कमिटी बैठकले आफ्नो निष्कासनको निर्णय सच्याए पनि एमालेमा नफर्कने अडान दोहोर्याएका छन्।

उनको अभियानले एमालेको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिको भविष्यमाथि कस्तो प्रभाव पार्नेछ, त्यसले सबैको ध्यान खिचेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button