बैंकमा थुप्रियो पैसा, किन बढ्न सकेन कर्जा लगानी ?

पछिल्लो समय लगानीयोग्य रकम तरलता अधिक हुँदा बैंकिङ प्रणालीमा रकम थुप्रँदै गएको छ । निजीक्षेत्रले कर्जाको माग नै गर्न नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको थुप्रो लागेको हो ।
बैंक तथा वित्तीय संस्थामा करिब ५ खर्ब हाराहारी लगानीयोग्य रकम तरलता थुप्रिएको छ । बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको परिचालन हुन सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ ।
निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा लामो समयदेखि अधिक तरलताको समस्या रहेको छ । राष्ट्र बैंकलाई पनि वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न सकस परेको छ ।
बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउने नियामकीय व्यवस्था छ । तर, अहिले बैंकमा तरलता अधिक हुन थालेसँगै कर्जा निक्षेप अनुपात सीडी रेसियो ६० प्रतिशतसम्म झरेको छ ।
यसैगरी मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो भने ७८.४२ प्रतिशत कायम छ । गत वर्षको सोहीअवधिमा वाणिज्य बैंकहरुको सीडी रेसियो ७९.६१ प्रतिशत कायम थियो ।
राष्ट्र बैंकको तथयांकअनुसार मंसिर मसान्तसम्म बैंकिङ प्रणालीमा ४ खर्ब ९७ अर्ब ६४ करोड रुपैयाँ तरलता मौज्दात रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा प्रणालीमा १ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ तरलता मौज्दात रहेको थियो ।
यो एक वर्षको अन्तरालमा बैंकिङ प्रणालीमा २०५.८५ प्रतिशतले लगानीयोग्य रकम थप भएको देखिन्छ । चालु वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ६६ खर्ब ४७ अर्ब ९४ करोड निक्षेप संकलन गर्दा ५३ खर्ब २७ करोड ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
जसमा वाणिज्य बैंकहरुले मात्रै ५९ खर्ब १२ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गर्दा ४७ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।



