
पर्सागढी नगरपालिकामा आगामी पुस १९ गते पर्सागढी विजयको २१०औं महोत्सव भव्य रूपमा मनाइने भएको छ। नेपाली सेना र पर्सागढी नगरपालिकाको सहकार्यमा पर्सागढी मन्दिर व्यवस्थापन समितिले हरेक वर्षझैं यस वर्ष पनि यो महोत्सव आयोजना गर्दैछ। शनिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख गोकर्ण पाठकले महोत्सवको तयारीबारे जानकारी दिए।
उनका अनुसार, पुस १९ गते बिहान १० बजे नगरपालिकाको कार्यालय, हरपुरबाट विभिन्न झाँकीसहित नेपाली सेनाको टोलीले बाजागाजासहित पदयात्रा सुरु गर्नेछ। यो पदयात्रा पर्सागढी वडा नं. ६ स्थित ऐतिहासिक युद्धस्थल पर्सागढी मन्दिर परिसरमा पुगेर विजय महोत्सव कार्यक्रममा परिणत हुनेछ। नगरप्रमुख पाठकले नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिँदै महोत्सवलाई ऐतिहासिक महत्वका साथ मनाइने बताए।
पत्रकार सम्मेलनमा पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीले विसं १८७१ पुस १९ गते स्थानीय रञ्जीत चौधरीको कुशल युद्ध नीति र स्थानीयवासीको सक्रियताले आधुनिक हतियारसहितको ब्रिटिश भारतको विशाल सेना पराजित भएको ऐतिहासिक विजयको स्मरणमा महोत्सव मनाइने बताए। यसका लागि पर्सागढी नगरपालिकाको आर्थिक सहयोग, नेपाली सेना, र स्थानीयवासीको सहकार्य रहेको जानकारी उनले दिए।
अध्यक्ष चौधरीले पर्सागढी मन्दिर देशकै एकमात्र ऐतिहासिक युद्धस्थल भए पनि ओझेलमा परेको गुनासो गरे। उनले मन्दिर वरिपरिका नदीहरू यो क्षेत्रको विकासमा बाधक बनेको उल्लेख गर्दै, यसलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न तीनै तहका सरकार र निजी क्षेत्रले पहल गर्नुपर्ने बताए।
हाल मन्दिरको नाममा मात्र दुई कट्ठा जग्गा रहेको र बाँकी जग्गा अतिक्रमणको शिकार भएको भन्दै, उनले यसको संरक्षणमा ध्यान दिन आग्रह गरे। साथै, ऐतिहासिक महŒवका दस्तावेज र लेखहरूमा युद्ध सफल पार्न मुख्य भूमिका खेलेका रञ्जीत चौधरीको नामसमेत समावेश गर्न माग गरे।
पर्सागढी मन्दिर परिसरमा रहेको बन्हर बाबाको मन्दिर र विजय स्तम्भमा मदिरा र मांसाहारी भोजन निषेध रहेको जानकारी पनि उनले दिए। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायतको उपस्थिति थियो।



