मन्दिरलाई बाहाना बनाएर निजी सम्पत्ति कब्जा गर्न खोजिएको आरोप, यस्तो छ नालीबेली

वीरगञ्ज ११ का एक स्थानीयबासिन्दाले केही अराजक व्यक्तिले आफ्नो जग्गा कब्जा गर्न खोजेको र त्यसका लागि अनेक भ्रम छर्न खोजेको आरोप लगाएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नंं. १० का प्रदीपकुमार रौनियारको नाममा साविक वीरगञ्ज वडा नंं. १४ हाल वडा नंं. ११ मा रहेको कित्ता नं. ५५ को ७ कठ्ठा १५ धुर जग्गा स्थानीय केही व्यक्तिहरुले अनधिकृत रुपमा कब्जा गर्न खोजेको रौनियारका छोरा वीरेन्द्रकुमारले बताएका छन् ।
नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरी वीरेन्द्रले यस्तो बताएका हुन् । साविकको ३७ नम्बर कित्ता हालको ५५ नम्बरको सो जग्गा आफ्ना पिताले २०४४ सालमै खरिद गरेको र अहिले केही स्थानीयले सो जग्गामा मन्दिर भएको दाबी गर्दै कब्जा गर्न खोजेको गुनासो गरे ।
यो विषय अदालतमा पुगिसकेको छ । यो विवादको अन्तिम किनारा नलागेसम्म सो जग्गामा कुनै पनि प्रकारको निर्माण वा अन्य कुनै काम नगर्न अदालतबाट विपक्षीका नाममा आदेश आए पनि सो आदेशको अवहेलना गरी कब्जा जमाउने प्रयास भइरहेको रौनियाले बताए ।
यो मुद्दा अदालतमा विचाराधीन छ । यसमा अदालतबाट जे ठहर हुन्छ त्यो हामीलाई मान्य छ । तर अदालतको आदेशविपरीत अनेक बाहानामा कब्जा गर्ने मनसाय देखिएको छ । त्यो सम्पत्तिको सुरक्षाको माग हाम्रो हो, पत्रकार सम्मेलनमा उनले भनेका छन् ।
सो जग्गा किनेदेखि नै वीरगञ्ज महानगरमा कर तिर्दै आएको र अहिले निर्माणको काम गर्न जाँदा स्थानीय केही व्यक्तिले अवरोध गरी निर्माणको काम रोकिदिएपछि विवाद भएको रौनियारको भनाइ छ ।

वीरगञ्ज महानगरले चौहद्दी प्रमाणित गरी निर्माणको नक्सा पासको राजस्वसमेत लिइसकेको अवस्थामा उनीहरुले त्यो ठाउँमा मन्दिरजस्तो देखिएको भन्दै महानगरमा रोक्काको पत्र दर्ता गराएको पत्रकार सम्मेलनमा रौनियारले बताए ।

मन्दिर भने साविक कित्ता नम्बर ३८ अन्तर्गतको ७ धुर जग्गामा देखिएको छ । सो ३८ नम्बरको साविक कित्ता अहिले अन्य ४ ओटा कित्तामा काटिएको दाबी उनले गरेका छन् । भूमाफियाले ७ धुर जग्गामा बनेको मन्दिरलाई ५५ नम्बर कित्तामा सारेर साविक ३८ नम्बरलाई प्लटिङ गर्ने योजनाअन्तर्गत आफ्नो नम्बरी जग्गालाई कब्जा गर्ने बदनियत राखिएको दाबी रौनियारको छ ।
सो जग्गामा आफ्नो कम्पाउण्ड वाल रहेको र भाडामा दिएको जग्गाधनी रौनियारले बताएका छन् । केही वर्षअघिको गुगल म्यापमा पनि कम्पाउड वाल देखिन्छ । सो जग्गामा पुग्न पूर्वतर्फको बाटोसम्म पहुँचको लागि जग्गासमेत लिएको उनले बताए ।

अहिले सो जग्गामा निर्माणको काम गर्न जाँदा गत माघमा स्थानीयले जग्गामा झण्डा गाडी अवरोध गरेको भन्दै जग्गाधनी अदालतमा गएको कगजातले देखाएको छ । प्रदीपकुमार रौनियारले स्थानीय विकास साह कानू, बादल गुप्ता, रंजन सिंह राजपुत, सौरभ पटेल, नैमुल मियाँ हजाम, नागेन्द्र महतोलगायतका १५/२० जनाले त्यहाँको संरचना भत्काएर आफ्नो निजी सम्पत्ति कब्जा गर्न खोजेको भन्दै आपराधिक उपद्रवमा मुद्दा हालेका थिए । अहिले यो प्रकरणमा मुद्दा र कानूनी दाउपेच चलिरहेको छ ।



