No Image Headlineदेशमुख्य खबर

मन्त्री यादवको उक्साहटमा तीन बिगाहा खेतको धानमा आगजनी गरिएको आरोप, कारवाही नभए आन्दोलनको चेतावनी

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरका किसान हरेन्द्र यादव तीन बिगाहा खेतको धानबालीमा आगजनी भएपछि न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पर्सा धाइरहेका छन्।

किसान यादवले गत पुस ६ गते राति आफ्नो खेतमा काटेर राखिएको २१० क्विन्टल धानमा आगजनी गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराए। उनले जाहेरीमा नरेश प्रसाद यादव, उमेश साह तेली, पन्नालाल महतो कोईरी, र अनिल यादव भनिने प्रदीप यादवलाई दोषी देखाएका छन्।

हरेन्द्र यादवले संघीय खानेपानीमन्त्री प्रदीप यादवको उक्साहटमा उक्त व्यक्तिहरूले राजनीतिक पूर्वाग्रहका कारण धानमा आगजनी गरेको आरोप लगाएका छन्। किसानले पत्रकार सम्मेलनमार्फत मन्त्री यादव र उनका समर्थकले आफूलाई उपेन्द्र यादवको कार्यक्रममा सहभागी नहुन र मन्त्रीविरुद्ध नबोल्न धम्की दिएको खुलासा गरेका छन्। धम्की बेवास्ता गरेकै कारण राति धानमा आगो लगाइएको उनको दाबी छ।

७ लाखभन्दा बढीको क्षति

आगजनीबाट २१० क्विन्टल धान जलेर नष्ट भएको र ७ लाख ९१ हजार ८ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको हरेन्द्र यादवले बताएका छन्।

हरेन्द्र यादवले पर्सा प्रहरीमा जाहेरी दिए पनि कुनै कारबाही अघि नबढेको आरोप लगाएका छन्। जसपा नेपालको जिल्ला अध्यक्ष रामनरेश यादवले पनि मन्त्री प्रदीप यादवको दबाबमा प्रहरी निरीह बनेको र दुई दिनभित्र कारबाही अघि नबढे आन्दोलनको चेतावनी दिएका छन्।

राजनीतिक प्रतिशोधको विवाद

मन्त्री प्रदीप यादव, जसपा नेपाल फुटाएर अशोक राईको नेतृत्वमा नयाँ दल गठन गरेपछि उपेन्द्र यादवका कडा आलोचक बनेका छन्। उपेन्द्र यादवको कार्यक्रममा सहभागी हुन नदिन मन्त्री पक्षधरहरूबाट धम्की आएको र त्यसकै कारण आगजनी गरिएको आरोप किसानहरूले लगाएका छन्।

किसानहरूले न्यायका लागि माग गरिरहे पनि राजनीतिक दबाबका कारण प्रहरीले निष्क्रियता देखाएको गुनासो स्थानीय तहमा व्यापक चर्चा भइरहेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button