रबि लामिछाने दोषी ठहर भए रास्वपाको भविष्य के होला ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा रहेका कारण पार्टीको नेतृत्व र पहिलो महाधिवेशनको तयारी अन्योलमा परेको छ। सहकारी बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको सिफारिसपछि पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ।
यदि लामिछाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भए, रास्वपाको विधानअनुसार उनको पार्टी सदस्यता र सांसद पद स्वतः खारेज हुनेछ। हाल, कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले अदालतको निर्णयबिना कुनै निष्कर्षमा पुग्न हतार हुने बताए।
“उहाँमाथि मुद्दा मात्रै लागेको हो। अदालतको निर्णय प्रतीक्षामा छौं,” उनले भने। लामिछानेलाई अदालतले सफाइ दिने सम्भावना रहेकोले, पार्टीभित्र उनको अनुपस्थितिबारे खासै छलफल भएको छैन।
सम्पत्ति शुद्धीकरण मुद्दामा दर्ता भएपछि संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बन गरेको छ। संसद् महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार मुद्दा किनारा नलागेसम्म उनी निलम्बित रहने छन्।
पार्टी नेतृत्व र महाधिवेशन
रास्वपाले आगामी वैशाखमा पार्टी महाधिवेशन गर्ने योजना बनाएको भए पनि सभापति हिरासतमा परेपछि मिति तय गर्न नसकिएको बताइएको छ। कार्यवाहक प्रवक्ता झाले महाधिवेशनको कार्यसूची प्रभावित भएको स्वीकार्दै भने, “सभापति सक्रिय हुँदा र नहुँदाको असर महाधिवेशनमा पर्छ। तर समय अनुसार अघि बढ्छ।”
राजनीतिशास्त्रका उपप्राध्यापक मिलन श्रेष्ठका अनुसार रास्वपाको उदय व्यक्तिको लोकप्रियतामा आधारित भए पनि संसद्मा चौथो ठूलो दलको रूपमा स्थापित भइसकेकोले लामिछानेको अनुपस्थितिले पार्टी डुब्ने संभावना छैन।
“रवि लामिछाने पार्टीका प्रमुख व्यक्ति हुन्, तर उनको विकल्पको खोजी पार्टीले गरिरहेको हुन सक्छ।” श्रेष्ठले भने।
तर लामिछाने नेतृत्वमा नरहेको अवस्थाले पार्टी सञ्चालनमा चुनौती आउने र पार्टीभित्र द्वन्द्व हुन सक्ने सम्भावनाबारे समेत उनले चेतावनी दिए।
जेलबाट पार्टी सञ्चालन?
कतिपयले लामिछानेले रेशम चौधरीको जस्तै जेलबाटै पार्टी सञ्चालन गर्न सक्ने आकलन गरेका छन्। तर श्रेष्ठले चौधरीको मुद्दा राजनीतिक प्रकृतिको रहेकाले लामिछानेको मुद्दासँग तुलनात्मक रूपमा फरक भएको बताए।
“चौधरीको पछाडि एउटा समुदाय थियो, तर लामिछानेका समर्थकहरू फरक पृष्ठभूमिका छन्। त्यसैले जेलबाट प्रभावकारी रूपमा पार्टी सञ्चालन गर्न कठिन हुने देखिन्छ,” श्रेष्ठले भने।
रास्वपाले महाधिवेशनको नयाँ मिति निर्धारण गर्न राष्ट्रिय भेलाको तयारी गरिरहेको छ। लामिछाने धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि थुनामा जाने अदालती निर्णयपछि मात्रै आगामी रणनीति स्पष्ट हुने देखिन्छ।



