बहुदरमाई नगरपालिकामा मौलाएको अराजकता, मेयर भन्छन्-मन्त्रीले असहयोग गरे

पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेलीले नगरपालिकामा भएका तोडफोड र आगजनीका घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।
पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मेयर तेलीले नगरपालिकाको बदनाम गर्न योजनाबद्ध प्रयास भइरहेको आरोप लगाए। उनले यस्ता गतिविधिले नगरपालिकामा अस्थिरता र प्रतिकूल अवस्था सिर्जना गरेको बताए।
मेयर तेलीले कार्यकारी अधिकृतले नगरपालिकाको काममा अवरोध पुर्याएको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले त्यसलाई संरक्षण गरेको घुमाउरो आरोप लगाए। यद्यपि, पत्रकार सम्मेलनभर उनले मन्त्री गुप्ताको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेनन्।
“सामाजिक सुरक्षा भत्ताको वितरण नगरपरिषदसँग सम्बन्धित विषय होइन,” मेयर तेलीले भने, “तर यो विषयलाई लिएर नगरपालिकाको छवि बिगार्ने प्रयास भइरहेको छ।” उनले कार्तिक ८ गते नगरसभा हुनुअघि नै सामाजिक सुरक्षा भत्ता वितरण भइसकेको स्पष्ट पारे।
प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफामाथि कर्मचारीहरूलाई उक्साएर आन्दोलन गराएको आरोप लगाउँदै मेयर तेलीले प्रशासनको गतिविधिले नगरपालिकामा असहज अवस्था सिर्जना भएको दाबी गरे।
मेयर तेलीका अनुसार, नगरपालिकाका १८ विद्यालयमध्ये १७ विद्यालय सुचारु रहेको छ। उनले डकैला बहुअरीस्थित विद्यालयका शिक्षकहरूमाथि विद्यार्थीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न उक्साएको आरोप पनि लगाए।
तोडफोड र आगजनीजस्ता घटनामा संलग्न दोषीलाई छानबिन गरी कडा कारबाही गर्न माग गर्दै मेयर तेलीले नगरपालिकाको समस्या समाधानका लागि समन्वय र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए।



