No Image Headlineअर्थ

हेटौंडा औद्योगिक क्षेत्र : १२ नयाँ उद्योग थपिँदै, १५ हजारलाई रोजगारी

मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ प्रकारका उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगहरूमध्ये स्वदेशी मात्र नभई बहुराष्ट्रिय कम्पनीहरू पनि सामेल छन्।

हेटौँडा औद्योगिक क्षेत्रमा स्थापित प्रमुख उद्योगहरूमध्ये खाद्य उद्योग प्रालि, युनाइटेड ब्रुअरी प्रालि, नेपाल बिस्कुट कम्पनी, नेपाल साबुन उद्योग, पशुको आहार उत्पादन प्रशोधन उद्योग, नेपालपोल उत्पादन प्रालि, र काष्ठ फर्निचर उद्योग रहेका छन्।

त्यस्तै, गोरखालारी चुरोट उद्योग प्रालि, हेटौँडा दुग्ध वितरण आयोजना, नेपाल चियापत्ती उद्योग प्रालि, नेपाल खाने तेल उत्पादन उद्योग, नेपाल कार्टुन उद्योग प्रालि, नेपाल बोट्लर्स उद्योग प्रालि, र नेपाल मदिरा उत्पादन उद्योग प्रालि पनि यस क्षेत्रमा सञ्चालनमा छन्।

दुई दशकअघि स्थापना भएका नेपाल सेन्थेटिक कपडा उद्योग, नेपाल छाला उद्योग प्रालि, नेपाल लाइभस्टक प्रालि, नेपाल वनस्पति घ्यू उद्योग, नेपाल पोलिथिन प्लास्टिक प्रालि र नेपाल दाना उद्योग प्रालि कच्चापदार्थको अभाव र आर्थिक संकटका कारण बन्द भएका छन्।

नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा कपडा उद्योग पनि वि.सं. २०५८ देखि बन्द अवस्थामा छ। तर, हाल औद्योगिक क्षेत्रमा १२ वटा नयाँ उद्योग निर्माणाधीन छन्, जसले आगामी दुई वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य लिएका छन्।

औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्तिलाई रोजगारीको अवसर प्रदान गरेका छन्। वि.सं. २०२० मंसिर २० गते अमेरिकी सरकारको आर्थिक अनुदान र प्राविधिक सहयोगमा हेटौँडा औद्योगिक क्षेत्र स्थापना गरिएको थियो।

औद्योगिक क्षेत्र स्थापनाका लागि ३,२२८ रोपनी जग्गा हस्तान्तरण गरिएकोमा १,९६१ रोपनी जग्गा विभिन्न उद्योगलाई वितरण गरिएको छ भने बाँकी १,४०० रोपनी जग्गा जगेडामा राखिएको छ।

औद्योगिक क्षेत्र परिसरभित्र इलाका प्रहरी कार्यालय, नेपाल बैंक सिटी अफिस, सशस्त्र प्रहरी बेस क्याम्प, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, माटो परीक्षण कार्यालय, हेटौँडा वितरण आयोजना, र कृषि बीउबिजन कार्यालय सञ्चालन भइरहेका छन्।

औद्योगिक क्षेत्रका प्रबन्धक सङ्गीता कुँवरका अनुसार, सशस्त्र प्रहरी बेस क्याम्पले सुरक्षा प्रदान गरे पनि चारैतिर तारबारको अभावका कारण स्रोतसाधनको सुरक्षामा कठिनाइ भइरहेको छ। साथै, भौतिक संरचना निर्माणका लागि बजेट अभाव हुँदा थप उद्योग सञ्चालन गर्न समस्या भएको छ।

कतिपय उद्योगीहरूले उद्योग स्थापनाका लागि जग्गा सम्झौता गरेका भए पनि हालसम्म उपयोग नगरेको प्रबन्धक कुँवरले बताएकी छन्। यस विषयमा उच्च तहबाट निर्णय गरी समाधान खोज्न आवश्यक रहेको उनको भनाइ छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button