No Image Headlineयस्तो पनि

‘रेज बेइटिङ’ को बढ्दो प्रवृत्ति: विवादास्पद सामग्रीले किन इन्टरनेटमा तहल्का मचाइरहेको छ?

सामाजिक सञ्जालमा आफ्नो पोस्टहरू राखेर गत वर्ष मात्रै डेढ लाख डलर कमाउन सफल भएकी अमेरिकी कन्टेन्ट क्रिएटर विन्टा जिसु अहिले चर्चाको पात्र बनेकी छिन्। अन्य प्रभावशाली इन्फ्लुएन्सरहरूभन्दा फरक तरिकाले सफल भएकी विन्टाको सामग्री प्रायः विवादास्पद र आक्रोशपूर्ण प्रतिक्रियाका कारण भाइरल हुन्छ।

२४ वर्षीया विन्टाका अनुसार उनका पोस्टहरूमा आउने ‘घृणास्पद’ टिप्पणीहरू नै मुख्यत: लाखौँ भ्युज ल्याउने स्रोत बनेका छन्। “मेरो प्रत्येक भिडिओमा आउने नकारात्मक टिप्पणीकै कारण १० औँ लाख भ्युज आएका छन्,” उनले बताइन्। विन्टाले न्यूयोर्क सिटीमा एक मोडलको जीवनशैली चित्रण गर्छिन्। उनका सामग्रीमा उनले आफू ‘अति सुन्दर हुनु’ नै आफ्नो समस्या भएको अभिनय गरिरहेकी हुन्छिन्।

तर धेरैले विन्टाको अभिनयलाई वास्तविक मान्ने गर्छन् र आक्रोशित भएर टिप्पणी गर्न थाल्छन्। “मानिसहरूले भन्छन्, ‘तिमी सुन्दर छैनौँ’ वा ‘तिमी धेरै नै आत्मविश्वासी देखिन्छौ, आफ्नो हैसियतमा बस’,” उनले भनिन्।

‘रेज बेइटिङ’ भनेको के हो?

‘रेज बेइटिङ’ भनेको सामाजिक सञ्जालमा जानाजान विवादास्पद सामग्री तयार गरी प्रयोगकर्ताहरूलाई आक्रोशित बनाउने रणनीति हो। यसको उद्देश्य मानिसहरूलाई उत्तेजित पारेर टिप्पणी गर्न, सेयर गर्न र भिडिओमा समय बिताउन बाध्य पार्नु हो।

यो प्रवृत्ति ‘क्लिकबेइट’ भन्दा फरक छ। ‘क्लिकबेइट’मा उत्सुकता जगाउने शीर्षक वा थम्बनेल प्रयोग गरी मानिसहरूलाई क्लिक गर्न उक्साइन्छ। तर ‘रेज बेइटिङ’मा नकारात्मक वा भड्किलो सामग्रीको प्रयोग गरिन्छ।

मानव व्यवहार र मस्तिष्कको प्रवृत्तिको अध्ययन गर्ने डाक्टर विलियम ब्राडीका अनुसार मानिसहरू नकारात्मक सामग्रीप्रति बढी आकर्षित हुन्छन्। “हाम्रो मस्तिष्कले नकारात्मक कुराहरूलाई प्राथमिकता दिन्छ, किनकि विगतमा त्यस्ता कुराले हाम्रो बाँच्नका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए,” उनले भने।

सामाजिक सञ्जाल र ‘रेज बेइटिङ’को सम्बन्ध

मुख्य सामाजिक सञ्जालहरू जस्तै फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामले क्रिएटरहरूलाई सामग्रीमा आउने इन्गेज्मेन्टका आधारमा पैसा दिन थालेपछि ‘रेज बेइटिङ’ सामग्रीमा वृद्धि भएको छ।

मार्केटिङ विश्लेषक एन्ड्रिआ जोन्सका अनुसार, “हामीले कुनै रमाइलो सामग्री देख्यौँ भने कर्सर तल सार्छौँ। तर कुनै विवादास्पद सामग्री देखेपछि भने हामी त्यसमा टिप्पणी गर्न र आफ्नो प्रतिक्रिया दिन बाध्य हुन्छौँ। एल्गोरिदमले यस्तो इन्गेज्मेन्टलाई उच्च गुणस्तरको मान्छ।”

यसरी, क्रिएटरहरूले जति धेरै इन्गेज्मेन्ट उत्पन्न गर्छन्, उनीहरूले त्यति धेरै पैसा कमाउँछन्। यही कारणले कतिपय क्रिएटरहरू नकारात्मक वा आक्रोश उत्पन्न गराउने सामग्री उत्पादन गर्न पछि पर्दैनन्।

राजनीतिमा ‘रेज बेइटिङ’को प्रवेश

‘रेज बेइटिङ’ केवल मनोरञ्जन सामग्रीसम्म सीमित छैन। यो वर्ष अमेरिकालगायत विश्वका धेरै देशमा चुनाव हुने भएकाले यस्तो प्रवृत्ति राजनीतिक क्षेत्रसम्म फैलिएको छ। भ्रामक जानकारी, विभाजनकारी पोस्ट र आक्रोश जगाउने सामग्री चुनावी माहोलमा विशेषगरी राजनीतिक दलहरू र समर्थकहरूले प्रयोग गरिरहेको पाइन्छ।

यसरी ‘रेज बेइटिङ’को उद्देश्य स्पष्ट छ – मानिसहरूको भावना भड्काएर उनीहरूको ध्यान खिच्ने र सामाजिक सञ्जालको एल्गोरिदमलाई उपयोग गर्दै सामग्रीलाई भाइरल बनाउने। तर यसले अन्ततः समाजमा असंलग्नता र नकारात्मकताको प्रवृत्ति बढाइरहेको विज्ञहरूको चेतावनी छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button