भैरहवा विमानस्थलमा किन भइरहेको छैन अन्तर्राष्ट्रिय उडान, विज्ञ भन्छन् निर्माणमै त्रुटि

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई महिनाअघि मात्र नियमित अन्तर्राष्ट्रिय उडान सुरु भए पनि वायुसेवा कम्पनीहरूले उडान रोक्ने तयारी गरेका छन्। यसलाई लिएर विज्ञहरूले यो विमानस्थल निर्माणको क्रममा नीतिगत त्रुटि र प्राविधिक योजना अभाव भएको औंल्याएका छन्।
जाडो मौसममा भैरहवामा बाक्लो हुस्सु र शीतलहरले भिजबिलिटी (दृश्यता) अत्यन्त कम हुने समस्या देखिएको छ। नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले भिजबिलिटी १,८०० मिटरभन्दा कम हुँदा ठूला विमान अवतरण गर्न नसक्ने बताउँछन्। जाडो महिनामा यस क्षेत्रको भिजबिलिटी मध्याह्नसम्म पनि सुधार नहुने हुँदा उडानमा कठिनाइ आउँछ।
प्रविधिको अभाव
हाल भैरहवा विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम जडान गरिएको भए पनि यसको पूर्णरूपमा प्रयोग हुन सकेको छैन। यसको मुख्य कारण विमानस्थलको भौगोलिक अवस्थिति हो। भारतीय सिमानासँग नजिक रहेकाले इन्स्ट्रुमेन्ट ल्यान्डिङ प्रणाली प्रयोग गर्दा भारतीय हवाई क्षेत्रमा विमान प्रवेश गर्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ। भारतले यस क्षेत्रमा नेपाललाई अनुमति नदिएकाले यो प्रविधि निष्क्रिय अवस्थामा छ।
नेपालले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिक्वाइअर्ड न्याभिगेशन पर्फर्मन्स अथोराइजेशन रिक्वाइअर्ड’ अर्थात् ‘आरएनपी एआर’ प्रविधि प्रयोग गरिरहेको छ, जसले कम भिजबिलिटीमा पनि उडान सम्भव बनाउँछ। प्राधिकरणले भैरहवामा पनि यही प्रविधि लागू गर्ने तयारी गरिरहेको छ।
यसका लागि विमानको क्षमता प्रमाणीकरण, पाइलटलाई तालिम र मार्ग परीक्षण आवश्यक पर्ने भए पनि आर्थिक कारणले उडान कम्पनीहरू उत्साहित देखिएका छैनन्। विमान कम्पनीहरूले भैरहवामा व्यापारिक सम्भावना नदेख्दा थप लगानी गर्न अनिच्छा देखाइरहेका छन्।
रणनीतिक त्रुटि र दूरदर्शिताको अभाव
सेवानिवृत्त क्याप्टेन प्रचण्डजङ्ग शाहले भैरहवा विमानस्थल निर्माणको पूर्वाधार तयारीमा रणनीतिक र प्राविधिक त्रुटि भएको बताए। उनका अनुसार मौसम, प्रविधि र भूगोलको अध्ययन नगरी निर्माण गरिएको विमानस्थलले अहिले समस्या खेपिरहेको छ। शाह भन्छन्, “भारतीय सीमासँग नजिक हुँदा विमान उडानमा चुनौतीहरू छन्। यस्तो संवेदनशील पक्षको अध्ययन नगरी विमानस्थल निर्माण गरिएको देखिन्छ।”
शाहले विमानस्थल निर्माणका लागि ऋण प्रदान गर्ने एशियाली विकास बैंक (ADB) ले पनि पर्याप्त प्राविधिक र भूराजनीतिक अध्ययन नगरेको आरोप लगाए। उनका अनुसार भारतको गोरखपुर एयरफोर्स बेस र अन्य संवेदनशील क्षेत्रमा प्रभाव पर्ने विषयमा गहन अध्ययन आवश्यक थियो।
जानकारहरूका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सञ्चालनका लागि तत्काल प्राविधिक सुधार, नीतिगत निर्णय र भारतसँग कूटनीतिक संवाद आवश्यक छ। अन्यथा, हाल देखिएका समस्याहरूले यो विमानस्थलको अन्तर्राष्ट्रिय महत्वलाई खतरामा पार्न सक्छ।



