सहकारी ठगी प्रकरण : कास्की प्रहरीले अनुसन्धान सक्यो, मुद्दा कहिले दायर हुन्छ ?

कास्की प्रहरीले सहकारी रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धान प्रक्रिया पूरा गरेको छ। कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले छिट्टै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइने जानकारी दिए।
लामिछाने २ कात्तिकमा पक्राउ परेका थिए। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन मुद्दामा अनुसन्धान भइरहेको छ। कानुनी व्यवस्थाअनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने छ।
अनुसन्धान प्रतिवेदन बुझाउने तयारी
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता कमला काफ्लेले प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गर्न ३–४ दिन लाग्ने बताएकी छिन्। प्रतिवेदनको आधारमा कुन मुद्दा चलाउने भन्ने निर्णय गरिनेछ।
लामिछानेसहित पाँच जना पक्राउ परेका छन्। थुनछेक बहसपछि अदालतले थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश दिन सक्नेछ।
अपचलनको आरोप र अभियुक्तहरू
लामिछानेमाथि पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारीबाट गोर्खा मिडियामा करोडौं रकम अपचलन गरेको आरोप छ।
अन्य आरोपितहरूमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, गुल्मीकी लीला पछाईं र पोखराका कृष्ण गुरुङ छन्। पक्राउ परेकाबाहेक ३५ जनालाई फरार प्रतिवादीको सूचीमा राख्ने तयारी भएको स्रोतले जनाएको छ।
संसदीय प्रतिवेदनका निष्कर्ष
संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख रुपैयाँ र देशभरका सहकारीमार्फत ६५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको छ। प्रतिवेदनमा रवि लामिछाने, जीबी राई, छविलाल जोशी, र सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरिएको थियो। अहिले जीबी राई फरार छन् भने सूर्यदर्शन सहकारीका अन्य अधिकारी कास्की प्रहरी हिरासतमा रहेका छन्।



