No Image Headlineअन्तराष्ट्रिय

सिरियामा शान्तिपूर्ण सत्ता हस्तान्तरण, असाद शासनको अन्त्य

सिरियाका पूर्व प्रधानमन्त्री मोहम्मद अल बासिरले विद्रोही शक्तिलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने सहमति जनाएका छन्। राजधानी दमासकसमा आयोजित बैठकपछि यो ऐतिहासिक निर्णय भएको हो। यो सहमतिसँगै सिरियामा ५० वर्षभन्दा लामो असाद परिवारको कठोर शासन अन्त्य भएको घोषणा गरिएको छ।

विद्रोही सेनाले पनि राज्य पक्षीय सेनालाई आफ्नो संरचनामा समावेश गर्ने निर्णय गरेको छ। हायात ताहिर अल साम (एचटिएस) का सैन्य अपरेसन कमान्डले यो निर्णय सार्वजनिक गरेको हो। साथै, एचटिएसले पूर्व सत्ताका सबै अधिकारीहरूलाई सरकारी कागजात र स्रोतहरू बुझाउन आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया र कूटनीतिक गतिविधि

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियाको राजनीतिक परिवर्तनपछि मध्यपूर्वमा शान्ति स्थापनाबारे जोर्डनका राजा अब्दुल्लाहसँग वार्ता गरेका छन्। राष्ट्रपति बाइडेनले सन् २०१५ मा तयार गरिएको सिरियाको शान्ति योजना (रोडम्याप) लाई पुनः सक्रिय गर्ने सोच व्यक्त गरेका छन्।

यसैबीच, सन् २०१२ मा गृहयुद्ध सुरु भएपछि सिरियामा बन्द गरिएको अमेरिकी दूतावास पुनः सञ्चालन गर्ने तयारी भएको छ। असाद सरकार ढलिसकेपछि अमेरिका सिरियासँग कूटनीतिक सम्बन्ध अघि बढाउन तयार रहेको बताइएको छ।

संयुक्त राष्ट्र संघ र इजरायलको भूमिका

संयुक्त राष्ट्र संघले बफर क्षेत्रमा इजरायलको बढ्दो उपस्थिति प्रति असहमति जनाउँदै सन् १९७४ मा भएको असंलग्न क्षेत्र सम्झौताविपरीत इजरायलले कदम चालेको आरोप लगाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार पत्रकार सम्मेलनमा सिरियामा भएका परिवर्तनको श्रेय हिजबुल्लाह र इरानको कमजोर अवस्थालाई दिएका छन्। उनले इजरायलको सुरक्षालाई असर गर्ने हिजबुल्लाहसँगको संघर्षले मध्यपूर्वको राजनीतिक मोडलाई नयाँ दिशा दिएको दाबी गरेका छन्।

नयाँ मोडमा मध्यपूर्व

सिरियामा असाद शासनको पतनसँगै मध्यपूर्व नयाँ राजनीतिक युगमा प्रवेश गरेको विश्लेषण गरिएको छ। सिरियाको राजधानी दमासकस कब्जा गरेपछि विद्रोही नेता अबु मोहम्मद अल जलवानीले सम्बोधन गर्दै यो परिवर्तनलाई सिरियाली जनताको विजयका रूपमा चित्रण गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button