खबर फटाफटदेश

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसको असरले देशका विभिन्न स्थानको मौसममा परिवर्तन देखिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली छ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहेको छ। तराईका भूभाग र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

आज दिउँसो कोशी प्रदेश र देशका अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

आज राति सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली हुनेछ। अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस अवधिमा सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। गण्डकी प्रदेशका थोरै स्थान, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा हिमपात हुनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा, साथै बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

मौसमको अवस्थालाई ध्यानमा राख्दै यात्रा योजना बनाउन तथा सम्भावित हिमपात र वर्षाबाट सुरक्षा अपनाउन विभागले सबैलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button