No Image Headlineअन्तराष्ट्रिय

कसरी भयो दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग प्रस्ताव विफल

सत्ताधारी दलका सांसदहरूको बहिस्कारपछि दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग प्रस्ताव विफल भएको छ।

उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो। तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै त्यसको पक्षमा मतदान गरेका विवरण आएका छन्।

न्याश्नल एसेम्बलीका सभामुखले उक्त विधेयक अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाअभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा गरेका थिए।

‘मार्शल कानुन’ लगाएकोमा माफी मागेका राष्ट्रपति यून सुक यउललाई पदबाट हटाउन माग गर्दै दशौँ हजार संसद् भवनबाहिर जम्मा भएका थिए।

तर महाअभियोग प्रस्ताव पारित हुन आवश्यक सङ्ख्या नपुगेपनि उनीहरूले यूनलाई हटाउने प्रयास जारी रहने बताएका छन्।

उनीहरूले राष्ट्रपति यूनको बहिर्गमनको माग गरेका छन्। त्यसअघि यूनले ‘मार्शल ल’ लागु गरेकोमा माफी माग्दै पुन यस्तो कदम नचाल्ने वाचा गरेका थिए।

मङ्गलवार राती उनले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्‌ले उल्ट्याइदिएको थियो। त्यसपछि उनले महाअभियोगको सामना गरिरहेका छन्।

त्यसअघि टेलिभिजन मार्फत् छोटो सम्बोधन गर्दै राष्ट्रपति यूनले माफी मागेका थिए। “म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनताहरूसँग माफी माग्न चाहन्छु,” यूनले भनेका थिए।

मतदानमा विफल रहेपछि प्रतिक्रिया दिदैँ दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रयाटिक पार्टीले राष्ट्रपतिलाई महाभियोग लगाउने प्रयास जारी राख्ने बताएको छ।

तर राष्ट्रपति यूनको पीपल्स पावर पार्टीले उसले यो सङ्कट समाधानका लागि महाभियोग भन्दा पनि ‘सुव्यवस्थित र जिम्मेवार’ उपाय खोज्ने प्रतिक्रिया दिएको छ।

मार्शल ल लागु गरेपछिको पहिलो राष्ट्रका नाममा गरिएको सम्बोधन मार्फत् यूनले राजीनामा घोषणा गर्ने आकलन गरिएको थियो। तर उनले त्यसो गरेनन्। बरु उनले अवस्था सामान्य बनाउने जिम्मेवारी सत्तामा रहेको आफ्नो दललाई सुम्पिने बताए।

विपक्षी दलले अघि बढाएको महाअभियोगबारे भने उनले आफ्नो सम्बोधनमा उल्लेख गरेनन्। कुल ३०० सदस्य रहेको संसद्बाट राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न विपक्षी दलहरूलाई सत्ताधारी पार्टीका आठ जना सांसदको समर्थन आवश्यक थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button